माछापुच्छ्रे बैंकले पायो त्रीपल बी प्लस रेटिङ

काठमाडौं । माछापुच्छ्रे बैंकले केयर एनपी ‘त्रीपल बी प्लस’) इस्युअर रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपाल लिमिटेडले गरेको मूल्यांकनका आधारमा बैंकलाई त्रीपल बी प्लस रेटिङ प्रदान गरिएको हो । केयर रेटिङ नेपालले प्रदान गरेको उक्त रेटिङले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित रहेको जनाउँदछ ।

माछापुच्छ्रे बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गको वाणिज्य बैंक हो । सन् १९९८ मा नेपालको पहिलो क्षेत्रीय वाणिज्य बैंकका रूपमा दर्ता भएको बैंकले सन् २००० अक्टोबरदेखि औपचारिक रूपमा बैंकिङ सेवा सुरु गरेको हो । बैंकको केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाटमा रहेको छ ।

बैंकमा संस्थापक र सर्वसाधारण सेयरधारकको अनुपात ५१:४९ रहेको छ । बैंकको मुख्य संस्थापक सेयरधनीमा कर्मचारी सञ्चय कोषको ९.२ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, प्रेम कुमारी केसीको ८.७ प्रतिशत, सुरेन्द्र महतोको ७.७ प्रतिशत र पीकेआर इन्भेष्टमेन्ट कम्पनी प्राइभेट लिमिटेड ६ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

सन् २०२५ अक्टोबर मध्यसम्मको तथ्यांकअनुसार माछापुच्छ्रे बैंकले कुल निक्षेपको ३ प्रतिशत बजार हिस्सा ओगटेको छ भने कुल कर्जामा करिब ३.२ प्रतिशत हिस्सा छ । सम्पूर्ण बैंकिङ क्षेत्रको तुलनामा भने बैंकको निक्षेप हिस्सा करिब २.७ प्रतिशत र कर्जा हिस्सा करिब २.८ प्रतिशत रहेको छ ।

देशभर बैंकिङ सेवा विस्तार गर्दै आएको माछापुच्छ्रे बैंकले सन् २०२६ जनवरीमध्यसम्म १६५ शाखा कार्यालय र १२ वटा एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले देशभर आफ्नो पहुँच विस्तार गर्दै वित्तीय सेवा विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको जनाएको छ ।

Share News