कांग्रेसभित्र गगन थापाको राजीनामाबारे दुई धार, नेतृत्व टिकाउने कि नैतिक जिम्मेवारी लिने ?

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर परिणाम आएपछि नेपाली कांग्रेसभित्र नेतृत्व र जिम्मेवारीबारे गम्भीर बहस सुरु भएको छ । पार्टीका सभापति गगनकुमार थापाले चुनावी हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन सक्ने संकेत गरेपछि कांग्रेसभित्र नेताहरू स्पष्ट रूपमा दुई धारमा विभाजित देखिएका छन् ।

एक पक्षले अहिले नेतृत्व परिवर्तनको बहसभन्दा पार्टीलाई पुनर्गठन र संगठन सुदृढीकरणतर्फ केन्द्रित हुनुपर्ने तर्क अघि सारेको छ । अर्को पक्षले भने चुनावी पराजयपछि नेतृत्वले नैतिक जिम्मेवारी लिनु राजनीतिक संस्कारअनुसार आवश्यक रहेको बताउँदै सभापति थापाले पद त्याग गर्नुपर्ने धारणा व्यक्त गरेको छ । यसले कांग्रेसभित्र नेतृत्व, रणनीति र संगठनात्मक संरचनाबारे नयाँ बहस सुरु भएको छ।

सभापति थापा निकट नेताहरूले अहिलेको परिस्थितिमा राजीनामा दिनु उपयुक्त नहुने बताएका छन् । उनीहरूको तर्कअनुसार चुनावी परिणामको जिम्मेवारी केवल सभापतिको मात्र नभई समग्र पार्टी नेतृत्व, संगठन र चुनावी रणनीतिसँग जोडिएको विषय हो ।

कांग्रेस नेता डा. सुनिल शर्माले अहिलेको अवस्थामा गगन थापाको नेतृत्वमै पार्टीलाई अघि बढाउनुको विकल्प नरहेको बताएका छन् । उनका अनुसार चुनावी हारपछि नेतृत्व परिवर्तनको बहसमा अल्झिनुभन्दा पार्टीलाई पुनर्गठन गर्दै संगठन सुदृढ बनाउने काम प्राथमिकतामा हुनुपर्छ ।

थापा पक्षका युवा नेताहरूले पनि यही धारणा व्यक्त गरेका छन् । उनीहरू अहिले सभापतिले राजीनामा दिएमा पार्टीभित्र थप अस्थिरता उत्पन्न हुन सक्ने बताउँछन् । नेता मनोजमणि आचार्यले निर्वाचन परिणामको गम्भीर समीक्षा गर्दै संगठनात्मक सुधारका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिन्छन् । तर सभापतिले राजीनामा दिने कुरो अहिलेको यथार्थभन्दा बाहिरको विषय रहेको उनको भनाइ छ । उनका अनुसार पार्टीलाई नयाँ ढंगले अघि बढाउन गगनको नेतृत्वमा संगठन, रणनीति र नेतृत्व शैलीबारे गहिरो पुनर्विचार आवश्यक हुनसक्छ ।

कांग्रेसका अर्का नेता डा. चन्द्रकान्त भण्डारीले पनि अहिलेको अवस्थामा सभापति थापाले राजीनामा दिनु उपयुक्त नभएको बताएका छन् । उनका अनुसार अहिले जिम्मेवारीबाट पछि हट्ने समय नभई पार्टीलाई सुधार गर्ने समय हो । पार्टीभित्र देखिएका संरचनात्मक समस्या समाधान गर्न नेतृत्व सक्रिय हुनुपर्ने उनले बताएका छन् ।

भण्डारीले पार्टी पुनर्गठनका लागि छिटो महाधिवेशन बोलाएर संगठन सुदृढ बनाउनुपर्ने सुझाव पनि दिएका छन् । उनका अनुसार नयाँ जनादेशको सन्दर्भमा कांग्रेसले आफ्नो संगठनात्मक ढाँचा र कार्यशैली पुनः परिभाषित गर्नुपर्ने आवश्यकता देखिएको छ ।

यद्यपि कांग्रेसभित्रको अर्को ठूलो समूहले भने नेतृत्वले चुनावी हारको नैतिक जिम्मेवारी लिनुपर्ने धारणा अघि सारेको छ । उनीहरूको तर्कअनुसार पार्टीले अपेक्षा गरेभन्दा धेरै कमजोर परिणाम ल्याउनु मात्र होइन, सभापति स्वयं पनि चुनावमा पराजित हुनु राजनीतिक रूपमा गम्भीर विषय हो ।

यस समूहका नेताहरूका अनुसार यस्तो अवस्थामा नेतृत्वले नैतिक जिम्मेवारी स्वीकार गर्दै पद त्याग गर्नु लोकतान्त्रिक राजनीतिक संस्कारअनुसार उपयुक्त हुन्छ।

नेता जितजंग बस्नेतले नेतृत्वले आफ्नो कार्यकालको जस र अपजस दुवै स्वीकार गर्नुपर्ने बताउँछन् । उनका अनुसार एक समय देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति मानिएको कांग्रेस अहिले खुम्चिँदै गएको छ र यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने हुन्छ ।

अर्का नेता तथा तरुण दलका सभापति विद्घान गुरुङले कांग्रेसको नयाँ संस्करणको राजनीतिक प्रयोग असफल भएको टिप्पणी गरेका छन् । उनका अनुसार अहिले देश र समाजलाई परम्परागत मूल्य र संगठनात्मक आधारमा चल्ने कांग्रेस आवश्यक भएको दाबी गरेका छन् ।

यस धारका नेताहरूले चुनावी रणनीतिमा देखिएको कमजोरी, संगठन व्यवस्थापनमा देखिएको असक्षमता र नेतृत्व शैलीका कारण पनि परिणाम प्रभावित भएको बताएका छन् । त्यसैले पार्टीले केवल परिणामको समीक्षा मात्र नभई आफ्नो राजनीतिक दिशा, संगठनात्मक संरचना र रणनीतिबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने उनीहरूको भनाइ छ ।

कांग्रेसभित्र केही नेताहरू भने तत्काल राजीनामा वा नेतृत्व परिवर्तनको निर्णयमा हतार गर्न नहुने पक्षमा देखिएका छन् । उनीहरूका अनुसार पार्टीको आधिकारिक बैठकमा निर्वाचन परिणामबारे विस्तृत समीक्षा भएपछि मात्र नेतृत्वसम्बन्धी निर्णय लिनु उपयुक्त हुन्छ ।

पार्टीका उपसभापति विश्वप्रकाश शर्माले एक भिडियो सन्देश जारी गर्दै निर्वाचन परिणाम अपेक्षाभन्दा फरक आएको स्वीकार गर्दै त्यसको गहिरो समीक्षा गरिने बताएका छन् । उनका अनुसार पार्टीभित्र सबै तहमा छलफल गरेर परिणामको 

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाकृत कमजोर प्रदर्शन गरेको छ । प्रत्यक्षतर्फ पार्टीले अघिल्लो निर्वाचनको तुलनामा उल्लेखनीय रूपमा सिट गुमाएको छ ।

यसैक्रममा सभापति गगन थापा स्वयं पनि सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भएका छन् । पार्टी नेतृत्व आफ्नै निर्वाचन क्षेत्रबाट हार्नुले कांग्रेसभित्र राजनीतिक र नैतिक जिम्मेवारीबारे बहसलाई थप तीव्र बनाएको छ ।

थापाले चुनावी परिणामपछि पार्टीभित्र आन्तरिक छलफल सुरु गर्दै हारको नैतिक जिम्मेवारीबारे संवाद अघि बढाउने संकेत गरेका थिए । उपसभापति शर्माले यसबारे जानकारी गराएपछि थापाको राजीनामा वा संगठन पुनर्गठन भन्ने बहसले तीव्रता लिएको छ । त्यसपछि पार्टीभित्र नेतृत्वको भूमिका, संगठनको अवस्था र आगामी रणनीतिबारे बहस झन् चर्किएको छ ।

कांग्रेसभित्र अहिले मुख्य प्रश्न राजीनामा कि पुनर्गठन भन्ने बनेको छ । एक पक्षले नेतृत्वलाई निरन्तरता दिँदै पार्टीलाई सुधार गर्ने अवसर दिनुपर्ने बताइरहेको छ भने अर्को पक्षले नयाँ नेतृत्वमार्फत पार्टीलाई पुनर्जीवित गर्नुपर्ने तर्क अघि सारेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो बहस केवल एक व्यक्तिको पद वा राजिनामासँग मात्र सम्बन्धित छैन । यसले कांग्रेसको भावी राजनीतिक दिशा, नेतृत्व शैली र संगठनात्मक पुनर्संरचनासँग पनि गहिरो सम्बन्ध राख्छ ।

यस विषयको अन्तिम निर्णय भने पार्टीका औपचारिक बैठक र संस्थागत छलफलपछि मात्र स्पष्ट हुने देखिएको छ । तर हालको परिस्थितिले भने कांग्रेसभित्र गहिरो आत्मसमीक्षा र राजनीतिक पुनर्संरचनाको आवश्यकता उजागर गरेको छ ।

Share News