काठमाडौं । नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ र निर्वाचन आयोगको स्वीकृत आचारसंहिता अनुसार ज्ञवालीले यो विवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत आयोग, काठमाडौंमा पेश गरेका हुन् ।
पेश गरिएको विवरण अनुसार ज्ञवालीले कुल २६ लाख ७५ हजार ३३० रुपैयाँ चुनावमा खर्च गरेका छन् । विवरणमा सबैभन्दा ठूलो रकम खाना र आवासमा ८ लाख ५० हजार रुपैयाँ भएको देखाइएको छ ।
त्यसबाहेक अन्य प्रमुख खर्चमा सम्पर्क कार्यालय स्थापनामा र सन्चालनमा देखिन्छ । सम्पर्क कार्यालय स्थापनामा र सन्चालनमा ज्ञवालीले ५ लाख ८० हजार रुपैयाँ खर्च गरेको उनले सार्वजनिक गरेको खर्च विवरणमा देखिन्छ ।
स्टेशनरी तथा प्रचार सामग्री छपाइमा ज्ञवालीले ४ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । विज्ञापन तथा सञ्चारमा १ लाख ७५ हजार ३३० रुपैयाँ र यातायातमा यातायातमा १ लाख रुपैयाँ खर्च भएको देखिन्छ ।
ज्ञवालीले आफ्नो खर्च विवरण पारदर्शी र निर्वाचन आचारसंहिता अनुसार राखिएको बताएका छन् ।