अत्याधुनिक प्रविधिसहितको नयाँ संसद भवन : टेबलबाटै मतदान, डिजिटल संवाद

काठमाडौं । नयाँ संसद् भवनको काम अझै पनि पूर्ण रूपमा टुंगिन सकेको छैन । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा गत बिहीबार सम्पन्न मतदानको परिणाम सार्वजनिक भइसकेको छ तर सांसदहरू बस्ने मुख्य भवन अझै तयार भएको छैन ।

सहरी विकास मन्त्रालयले चैत पहिलो साताभित्र भवन हस्तान्तरण गर्ने लक्ष्य राखेको भए पनि प्राविधिक सामानहरू विदेशबाट आयात गर्नुपर्ने बाध्यताका कारण तोकिएको समयमा काम सम्पन्न हुन नसकेको परियोजनाले जनाएको छ ।

विशेष भवन निर्माण परियोजना इकाइका अनुसार हालसम्म यस परियोजनाको कुल ९४ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 

परियोजना निर्देशक रोशन श्रेष्ठका अनुसार नयाँ सांसदहरूलाई शपथ खुवाउनका लागि मुख्य भवन निर्माण भइन्जेलका लागि साइडमा रहेको अर्को हल तयारी अवस्थामा राखिएको छ । 

सिंहदरबारभित्र निर्माण गरिरहेको नयाँ संसद भवन विगतको भन्दा नितान्त फरक र अत्याधुनिक प्रविधियुक्त बन्न लागेको श्रेष्ठले जानकारी दिए ।

सहरी विकास तथा भवन निर्माण विभागका अनुसार यो भवनलाई अन्तर्राष्ट्रिय मापदण्डको ‘स्मार्ट’ संसद्का रूपमा विकास गरिँदैछ, जहाँ सांसदहरूले आफ्नो सिटमै बसेर डिजिटल प्रविधिको भरपुर उपयोग गर्न पाउनेछन्।

नयाँ भवनको मुख्य विशेषता भनेको प्रत्येक सांसदको टेबलमा जडान गरिने अत्याधुनिक ‘डिजिटल डिभाइस’ हो । अब सांसदहरूले बोल्न वा मतदान गर्नका लागि विगतको जस्तो झन्झट बेहोर्नु पर्ने छैन । विभागका उपमहानिर्देशक रोशन श्रेष्ठका अनुसार सांसद बसेको टेबलमा एउटा डिभाइस राखिएको छ जसले कुन सांसद बोलिरहनुभएको छ भन्ने कुरा त्यही टेबलको स्क्रिनमा डिस्प्ले हुन्छ । 

त्यस्तै, भोटिङ गर्नु पर्यो भने पनि ‘हुन्छ’  वा ‘हुन्न’ भन्ने बटन थिचेर टेबलबाटै मत दिन सकिने व्यवस्था मिलाइएको छ । यो प्रविधिलाई नेपालको संसदीय इतिहासमै अहिलेसम्मकै आधुनिक मानिएको छ ।

यद्यपि निर्माण कार्यमा केही प्राविधिक चुनौतीहरूका कारण केही ढिलाइ भने भएको छ । अर्डर गरिएका सामग्रीहरू सोचेजस्तो गुणस्तरको नभएपछि कतिपय सामानहरू फिर्ता पठाउनुपरेको र पुनः मगाउँदा समय थपिएको विभागको दाबी छ । 

‘सुरुमा एउटा सामान भनेर अर्डर गर्यौं, आइपुग्दा अर्कै गुणस्तरको आउने जस्ता समस्याले गर्दा तीन वर्षको समय अवधि गणना गर्दैमा सकियो,’  श्रेष्ठले निर्माण ढिलाइको कारण खुलाए । 

Share News