रूपन्देही–२ का उम्मेदवार वासुदेव घिमिरेको निर्वाचन खर्च १९ लाख ४६ हजार

काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २, रूपन्देहीका उम्मेदवार वासुदेव घिमिरेले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । उनले जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमार्फत निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार आफ्नो निर्वाचन अभियानमा कुल १९ लाख ४६ हजार ३०० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

निर्वाचन खर्च विवरण अनुसूची–१५० अनुसार सबैभन्दा बढी रकम सवारीसाधन प्रयोगमा खर्च गरिएको देखिएको छ । सवारीसाधन दुई वटाको ५ लाख ६९ हजार २०० रुपैयाँ खर्च भएको उल्लेख छ ।

त्यस्तै खाना, खाजा र आवास व्यवस्थापनमा ४ लाख ४६ हजार रुपैयाँ खर्च गरिएको घिमिरेले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ । प्रचारसँग सम्बन्धित गतिविधिमा पनि उल्लेख्य रकम खर्च भएको विवरणमा देखिन्छ ।

खर्च विवरणअनुसार निर्वाचन प्रतिबद्धता पत्र छपाइमा ३ लाख २६ हजार रुपैयाँ, झण्डा र ब्यानर बनाउँदा ६६ हजार रुपैयाँ खर्च भएको देखिएको छ ।

घिमिरेले नमुना मतपत्र छपाइमा मात्रै ५६ हजार ५०० रुपैयाँ खर्च गरेका छन् । यस्तै, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा ४४ हजार ६०० रुपैयाँ खर्च भएको घिमिरेले सार्वजनिक गरेको खर्च विवरणमा देखिन्छ ।

घिमिरेले निर्वाचन खर्च सम्बन्धी विवरण चैत्र २६ गते आज हस्ताक्षरसहित बुझाएको जानकारी दिएका छन् ।  निर्वाचन आयोगले निर्वाचनमा सहभागी उम्मेदवारलाई निर्वाचन सम्पन्न भएपछि निर्धारित समयभित्र खर्च विवरण पेश गर्न अनिवार्य व्यवस्था गरेको छ ।

null

Share News