काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति इरानविरुद्धको युद्ध ‘छिट्टै समाप्त हुन सक्ने’ बताएका छन् ।
उनको यस अभिव्यक्तिपछि विश्वका सेयर बजारहरूमा तुरुन्तै सकारात्मक प्रभाव देखियो र तेलको मूल्य पनि केही घट्यो । उनले सीबीएस न्यूजलाई भनेका छन्, ‘मलाई लाग्छ युद्ध लगभग समाप्त भइसकेको छ ।’
ट्रम्पले यस युद्धबारे अमेरिकाको योजना ‘समयभन्दा अघि’ अघि बढिरहेको दाबी गर्दै इरानको सैन्य शक्ति धेरै हदसम्म समाप्त वा निष्क्रिय भइसकेको बताए । उनका अनुसार अहिले इरानसँग प्रभावकारी नौसेना, सञ्चार प्रणाली वा वायुसेना छैन । उसका मिसाइलहरू छरिएका छन्, ड्रोनहरू नष्ट गरिँदै छन् र ड्रोन
कारखानासमेत ध्वस्त पारिँदै छन् । ‘सैन्य दृष्टिले हेर्दा अहिले उनीहरूसँग केही पनि बाँकी छैन,’ ट्रम्पले भने ।
जब उनलाई युद्ध ‘छिट्टै समाप्त हुन सक्छ कि ?’ भनेर सोधियो तब ट्रम्पले ‘मेरो पनि त्यही उद्देश्य हो’ भन्ने जवाफ दिए । तर पछि फ्लोरिडामा पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘इरानविरुद्धको हाम्रो अभियान छिट्टै समाप्त हुनेछ, तर यो हप्ता भने होइन ।’
‘इरानसँग जे थियो सबै समाप्त भइसकेको छ, त्यसको नेतृत्वसमेत,’ उनको दावी छ । ‘हामी धेरै अगाडि पुगिसकेका छौं । यसको अन्त्य कस्तो हुन्छ भन्ने कुरा मेरो दिमागमा छ, अरू कसैको होइन,’ उनले थपे ।
यसअघि ह्वाइट हाउसले २८ फेब्रुअरीदेखि सुरु भएको यो युद्ध एक महिनाभन्दा बढी चल्न सक्ने अनुमान गरेको थियो ।
ट्रम्पका यी भनाइले विश्वका सेयर बजारमा सकारात्मक असर पारे । सोमबार अमेरिकी सेयर बजार बढेर बन्द भए । विश्लेषकहरूका अनुसार इरानसँगको संघर्ष छिट्टै समाप्त हुन सक्ने ट्रम्पको संकेतले बजारमा केही राहत दिएको हो ।
त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) र ब्रेन्ट क्रूड तेलको मूल्य सोमबार बिहान प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो । तर दिनभरि क्रमशः घट्दै करिब ९० डलर प्रतिव्यारेल आसपास झरेको छ । यी दुवै विश्वमा तेलको मूल्य निर्धारण गर्ने प्रमुख मानक मानिन्छन् ।
यसैबीच सोमबार ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका थिए । यस वर्ष उनीहरूबीच भएको यो पहिलो वार्ता हो । ट्रम्पका अनुसार पुटिनले सहयोग गर्न इच्छा देखाएका छन् । ट्रम्पले उनलाई ‘युक्रेनसँगको युद्ध समाप्त गरे अमेरिका र विश्वलाई अझ सहयोग गर्न सक्नुहुन्छ’ भनेका थिए ।
केही मिडिया रिपोर्टका अनुसार इरान युद्धका कारण विश्वभर तेलको मूल्य बढिरहेको विषयमा अमेरिका चिन्तित छ । त्यसैले उसले रूसमाथि लगाइएका तेलसम्बन्धी प्रतिबन्धहरू केही खुकुलो पार्ने विषयमा विचार गरिरहेको छ।
गत साता मात्रै अमेरिकाले भारतलाई रूसबाट तेल किन्न ३० दिनको छुट दिएको थियो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेख्दै अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति कायम राख्न भारतीय रिफाइनरीहरूलाई रूसबाट तेल खरिद गर्न ३० दिनको अनुमति दिइएको बताएका थिए ।
ट्रम्प–पुटिन वार्ताकै बीच पुटिनले मोज्तबा खामेनेईलाई इरानको सर्वोच्च नेता चयन भएकोमा बधाई दिएका थिए र इरानप्रति आफ्नो समर्थन दोर्होयाएका थिए । यो जानकारी क्रेमलिनको वेबसाइटमार्फत सार्वजनिक गरिएको थियो ।
तर ट्रम्पले भने मोज्तबा खामेनेईलाई सर्वोच्च नेता बनाइएकोमा आफू ‘खुसी नभएको’ बताएका थिए । मोज्तबा हालै अमेरिकी–इजरायली हमलामा मारिएका पूर्व सर्वोच्च नेता अलि खामेनेईका छोरा हुन् ।
इरानी मिसाइलबारे ट्रम्पले भने, ‘उनीहरूले चलाउनुपर्ने सबै मिसाइल चलाइसके । अब कुनै नयाँ चाल चल्ने प्रयास नगर्नु राम्रो हुन्छ, नत्र त्यो देशको अन्त्य हुन सक्छ ।’
‘यदि उनीहरूले गल्ती गरे भने इरानको अन्त्य हुनेछ र त्यसको नाम फेरि कहिल्यै सुनिने छैन,’ उनले चेतावनी दिँदै भने ।
त्यस्तै, स्ट्रेट अफ होर्मुज बारे ट्रम्पले अमेरिका त्यस क्षेत्रलाई ‘नियन्त्रणमा लिने विषयमा विचार गरिरहेको’ बताए । विश्वको समुद्री मार्गबाट हुने तेल आपूर्तिको करिब २० प्रतिशत यही मार्ग हुँदै जान्छ । युद्धका कारण यहाँ आवागमन प्रभावित हुँदा हालै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको थियो ।
युद्धको सुरुवातमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले होर्मुज जलडमरूमध्य बन्द गर्ने र त्यहाँबाट जाने जहाजहरूलाई नष्ट गर्ने धम्की दिएको थियो । तर पछि इरानका उपविदेशमन्त्री सईद खतीबजादेहले होर्मुज बन्द नगरिएको बताएका थिए । (बीबीसीबाट अनुदित तथा सम्पादित)
इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ?
मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम
इरान : शून्यमा सत्ता, संकटमा शासन
खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित
इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली