काठमाडौं । यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’को काठमाडौं उपत्यकाभित्र दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले कपनस्थित रिलायन्स कलेज नजिक नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो ।
नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा बलियो उपस्थितिसहित परिचित करेन्ट नुडल्सका उत्पादक यशोदा फुड्सले बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको सफलतापछि ग्राहकको बढ्दो मागलाई मध्यनजर गर्दै कपनमा दोस्रो शाखा विस्तार गरेको जनाएको छ ।
नयाँ शाखाको उद्घाटनको अवसरमा ‘करेन्ट मार्ट’मा उपलब्ध सम्पूर्ण उत्पादन खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । आउटलेटको उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रूपमा रिबन काटेर गरेका थिए । कार्यक्रममा कम्पनीका प्रतिनिधि, ग्राहक तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कपनस्थित नयाँ ‘करेन्ट मार्ट’मा उपभोक्ताले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण उत्पादन एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न स्न्याक्स, चिज बल्स, स्टिक्स, पोटाटो क्र्याकर्स उपलब्ध छन् । साथै करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा जिरा, धनिया र रातो खुर्सानी पाउडरलगायतका मसला पनि बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ ।
उद्घाटन समारोहमा बोल्दै ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर शाहले बानेश्वर शाखामा उपभोक्ताबाट प्राप्त माया र विश्वासले काठमाडौंका अन्य स्थानमा समेत सेवा विस्तार गर्न प्रेरणा मिलेको बताए । कपन तथा आसपासका उपभोक्ताले अब आफ्नै क्षेत्रबाट कम्पनीका ताजा तथा गुणस्तरीय उत्पादन सहज रूपमा खरिद गर्न सक्ने उनले बताए ।