काठमाडौं । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन् । गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ । वि.सं २०७९ को चुनावमा गण्डकीबाट एमालेले ५ र नेकपाले २ निर्वाचन क्षेत्रमा जितेको थियो ।
अघिल्लो चुनावमा १० क्षेत्रमा जितेको नेपाली कांग्रेस पनि यसपटक गण्डकीमा २ सिटमा सीमित रह्यो । वि.सं २०७९ को चुनावमा बागलुङ-१ मा विजयी बनेको राष्ट्रिय जनमोर्चाका उम्मेदवारको यसपालि जमानत नै जफत भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ निर्वाचन क्षेत्रमा विजयी बन्न सफल भयो । म्याग्दी, मुस्ताङ र मनाङबाहेकका जिल्लामा रास्वपा उम्मेदवारले जितेका हुन् । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बने ।
मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली र मनाङमा पनि नेपाली कांग्रेसकै टेकबहादुर गुरुङले संसद्को यात्रा तय गर्न सफल हुनुभयो । रास्वपाले प्रदेश राजधानी रहेको कास्कीलगायत अधिकांश जिल्लामा जित निकालेको हो । रास्वपाबाट कास्की-१ खड्कराज पौडेल, कास्की-२ मा उत्तमप्रसाद पौडेल र कास्की-३ मा बिना गुरुङ विजयी बन्नुभयो । बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी बने ।
बागलुङ-१ मा सुशील खड्का र बागलुङ-२ मा सोम शर्मा बिजयी बने । स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार विजयी बने । स्याङ्जा-१ बाट धनञ्जय रेग्मी र स्याङ्जा-२ बाट झविलाल डुम्रे ससंद्मा पुगेका हुन् । तनहुँका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले जितेका छन् । तनहुँ-१ मा स्वर्णिम वाग्ले र तनहुँ-२ मा श्रीराम न्यौपाने विजयी बने ।
यस्तै, नवलपुर-१ मा रास्वपाकै राजन गौतम र नवलपुर-२ मा मनिष खनाल विजयी बने । लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी विजयी बने । पवर्तबाट रास्वपाकै सागर भुसालले ससंदीय यात्रा तय गर्नुभएको छ । गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित्यो । गोरखा-१ मा सुदन गुरुङ र गोरखा-२ मा कविन्द्र बुर्लाकोटी विजयी बने ।