काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक गरेको छ । सङ्खुवासभाको मत परिणाम सार्वजनिक भएसँगै १६५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम आएको हो ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १२५ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । यस्तै, नेपाली कांग्रेसले १८ निर्वाचन क्षेत्र, नेकपा एमालेले ९ निर्वाचन क्षेत्र, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ८ निर्वाचन क्षेत्र, श्रम संस्कृति पार्टीले ३ निर्वाचन क्षेत्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ निर्वाचन क्षेत्र जितेको छ ।
यस्तै, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन विजयी भएसँगै स्वतन्त्रले १ वटा सिटमा जित हासिल गरेको हो ।
२७५ जना प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते देशभर मतदान भएको थियो । जसमा १६५ वटा प्रत्यक्षतर्फ र ११० वटा समानुपातिक रहेको छ । समानुपातिक तर्फको १ करोड २ लाख मत गणना भइसकेको छ ।