काठमाडौं । कहिलेकाहीँ जीवनले बुनेका सपना समयको भुमरीमा कतै हराएझैँ लाग्छन् । तर, तिनै सपना फेरि अर्को रूप लिएर मानिसलाई अप्रत्याशित उचाइमा पु¥याइदिन्छन् । स्याङ्जा गल्याङको शान्त पहाडी परिवेशमा हुर्किएका दयाराम शर्मा पंगेनीले पनि बाल्यकालमा एउटा सपना बुनेका थिए– इन्जिनियर बन्ने । गणितप्रतिको लगाव र भविष्यप्रतिको उत्साहले उनले विद्यालयमा ऐच्छिक विषयका रूपमा गणित रोजेका थिए । तर, जीवन सधैं योजनाअनुसार चल्दैन । घरको आर्थिक अवस्थाले त्यो सपना अधुरै रह्यो । समयले उनलाई व्यवस्थापनको बाटोमा मोड्यो, र त्यही बाटो हुँदै उनी आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (ईडी) को जिम्मेवारीमा पुगेका छन् ।
उनको जीवनयात्रा केवल पदोन्नतिको कहानी मात्र कनेन, संघर्ष, साहस, इमानदारी र कर्तव्यनिष्ठाको एउटा गहिरो प्रेरणा बनेको छ उनको जीवन ।
२०६२/६३ सालतिर देशको राजनीतिक अवस्था अत्यन्तै अस्थिर थियो । माओवादी जनयुद्धको प्रभाव देशका धेरै भूभागमा फैलिएको थियो । यात्रुहरू सडकमा निस्कँदा अनिश्चितता र त्रासदीपूर्ण हुन्थ्यो । त्यही समय दयाराम शर्मा पंगेनी नेपाल राष्ट्र बैंकको सहायक तृतीय श्रेणीमा कार्यरत थिए र उनको सरुवा धनगढी कार्यालयमा भएको थियो ।
कैलालीको धनगढीमा काम गर्नु त्यतिबेला सहज थिएन । तर, जिम्मेवारीबाट पछि हट्ने स्वभाव उनको थिएन । त्यही बेला बैंकिङ प्रशिक्षण केन्द्र (बीटीसी) ले उनलाई काठमाडौं आएर दुई वटा कक्षा पढाउनुपर्ने जिम्मेवारी सुम्पियो ।
उनी अहिले पनि सम्झिन्छन्, ‘धनगढीबाट हायस चढेर काठमाडौं आउने क्रममा कर्णाली पुल पार गरेपछि गाडी एकाएक रोकियो । केही क्षणमै माओवादी कार्यकर्ता आए र सबै यात्रुलाई गाडीबाट बाहिर निकालेर सडकछेउमा उभ्याए । एक–एक गरेर सबैसँग सोधपुछ हुन थाल्यो—कता जाने, के गर्ने, कहिले फर्किने ।’
उनले आफ्नो परिचय दिए । सोधपुछपछि यात्रुहरू फेरि गाडीमा चढे र यात्रा अघि बढ्यो । तर, काठमाडौं पुगेपछि उनलाई एउटा कुरा सम्झना आयो, माओवादीसँग सोधपुछ हुँदा आफूले फर्किने समय ठीकसँग टिपाउन बिर्सिएका रहेछन् ।
उनी त्यो क्षण सम्झँदै भन्छन्, ‘माओवादीको चेकिङमा २÷४ दिन थप बस्छु भनेर टिपाउनै बिर्सेछु ।’
त्यसपछि उनको मनमा एउटा अदृश्य डर बस्यो । यदि फर्किँदा फेरि सोधपुछ भयो भने के होला ? यही त्रासले उनले सामान्य बाटो छोडेर नेपालगन्ज हुँदै भारतको बाटो प्रयोग गरेर धनगढी फर्किने निर्णय गरे ।
बमको आवाजबीच बितेको रात
नेपालगन्ज पुगेपछि उनी राष्ट्र बैंकका त्यतिबेलाका कार्यालय प्रमुख चिन्तामणि शिवाकोटीको क्वार्टरमा बसे । दिनभरको यात्रापछि शरीर थाकेको थियो, तर रात शान्त थिएन ।
उनी सम्झन्छन्, ‘चिन्तामणी सर (चिन्तामणी सिवाकोटी)ले पंगेनी बावु आज मेरैमा बस्नु भन्नु भयो । उहाँकोमा खाना खाइयो, उहाँको मै बसें । खाना खाएर कुराकानी गर्दै थियौं । बम पड्किएको आवाज आउन थाल्यो । सर पनि डराउनु भयो, म पनि डराए ।’
रातको सन्नाटामा विस्फोटका आवाजहरू झन् भयावह सुनिन्थे । त्यो रात उनीहरूले निद्राभन्दा बढी त्रासको अनुभूति गरे ।
भोलिपल्ट उनले अर्को निर्णय गरे । ‘नेपालको बाटो भएर जाँदा जोखिम हुन सक्छ । त्यसैले भारतको बाटो हुँदै धनगढी जाने,’ त्यो कहालीलाग्दो समय स्मरण गरेर उनले सुनाए, ‘धनगढी पुगिसकेपछि म बाँच्ने पक्का भएँ भनेर लामो स्वास फेरें ।’

कुखुराको खोरमा बितेको रात
धनगढी पुगेपछि पनि अवस्था सहज थिएन । माओवादी गतिविधि बढिरहेको थियो । राति डेरातिर जाँदा बाटोमै विस्फोट हुने घटनाहरू सामान्यजस्तै भइसकेका थिए ।
त्यो दुश्य स्मरण गर्दै उनी भन्छन्, ‘म क्वार्टरमा पनि बस्न सक्दैनथें । धनगढीको उत्तरबेहडी भन्ने ठाउँमा मेरो एक जना साथीले डेरा खोजेर बसेको थिए । ढुकुटीको चाबीहरु सबै अफिसमै राखेर लक गरेर डेरामा बस्थें । म डेरामा जाँदा पनि बाटोमै बम पड्किन्थ्यो, कहिलेकाहीँ डेरामा नपुगिकन कुखुराको खोरतिर गएर रात बिताएको पनि छु ।’
संकटको त्यो समय केवल डरले भरिएको थिएन, जिम्मेवारीले पनि भरिएको थियो । बैंकको काम रोक्न मिल्दैनथ्यो । निरीक्षणमा जाँदा चार/पाँच जना अपरिचित मानिस देखिँदा पनि मनमा डर लाग्थ्यो ।
‘विद्रोहकालिन समयमा निरीक्षण गर्न जाँदा ४/५ जना कोही आएपनि डराउँथ्यौं । माओवादीले २/४ पटक राष्ट्र बैंकको धनगढी कार्यालयमा आक्रमण गर्याे । तर, कर्मचारी साथीहरु कसैलाई केही भएन,’ उनले सुनाए ।
गाउँबाट सुरु भएको यात्रा
दयाराम शर्मा पंगेनी स्याङ्जाको गल्याङ नगरपालिका–१० मा जन्मिएका हुन् । उनका बाल्यकालका दिनहरू पहाडको शान्त वातावरण, विद्यालयका साधारण कक्षाकोठा र भविष्यका साना–साना सपनाहरूले भरिएका थिए ।
उनले कक्षा पाँचसम्म तेज प्राथमिक विद्यालयमा पढे । त्यसपछि बालसिता निमाविमा अध्ययन गरे र २०४९ सालमा दहथुम माध्यमिक विद्यालयबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भए ।
बाल्यकालको पढाइ सम्झिँदै उनी भन्छन्, ‘एसएलसी भन्दामुनी म त्यति धेरै मिहिनेत गर्ने होइन तर, कम मिहिनेत गर्ने पनि होइन । विषय वस्तुलाई घोकेर भन्दा पनि बुझेर जानुपर्छ भन्ने स्वभावको थिएँ । फस्ट ब्वाई भएकाले सबै गुरुहरुले मन पराउनुहुन्थ्यो ।’
उनी थप्छन्, ‘त्यतिबेला म एक्स्ट्रोभेट नेचरको थिएँ । तर, अहिले आएर इन्ट्रोभट नेचर छ की जस्तो लाग्छ ।’
राष्ट्र बैंकसम्मको यात्रा
प्लस टु, स्नातक र स्नातकोत्तर सबै अध्ययन उनले शंकरदेव क्याम्पसबाट पूरा गरे । स्नातक पढ्दै गर्दा उनले लोकसेवा आयोगबाट निजामति सेवाको परीक्षा पास गरे र रक्षा मन्त्रालय सिंहदरबारमा काम सुरु गरे ।
तर, राष्ट्र बैंकको अवसर देखेपछि उनले त्यतातिर पाइला मोडे ।
‘राष्ट्र बैंक आउनु भन्दा अगाडि १०/११ महिना जति म निजामति सेवातर्फ रक्षा मन्त्रालय सिंहदरबारमा थिएँ । त्यहाँ पनि लोकसेवा नै पास गरेको हो । त्यसपछि राष्ट्र बैंकको खुला प्रतिस्पर्धाबाट असिस्टेन्ट र ४ वर्षपछि आन्तरिक प्रतिस्पर्धाबाट हेड असिस्टेन्ट भएँ । हेड असिस्टेन्ट २/३ महिना मात्रै भएँ । त्यसपछि खुला प्रतिस्पर्धाबाट जाँच दिएको थिएँ, २०५९ साउन २७ गते असिस्टेन्ट डाइरेक्टर बनें ।’
‘मेरो फाइल प्रमोशन कहिले पनि भएन । सधैँ लिखितमा नाम निकालेर नै हो । सहायकदेखि निर्देशकसम्म सबैमा लिखितबाट नै आएको हो,’ उनले भने ।
तेस्रो प्रयासमा बने निर्देशक
प्रधान सहायक, सहायक निर्देशक र उपनिर्देशक पद उनी पहिलो प्रयासमै बने । तर, निर्देशक बन्ने यात्रा भने तीन प्रयासपछि मात्र सफल भयो ।
दुई पटक लिखित परीक्षा पास गरे पनि अन्तर्वार्तामा असफल हुँदा उनले हार मानेनन् ।
‘मैले अरु बढी मिहिनेत गर्नुपर्छ, अरु बढी परिस्कृत हुनुपर्छ, ज्ञान लिनुपर्छ र अर्काे परीक्षामा उत्कृष्ट ढंगले मेरो जवाफहरु पेस गर्नुपर्छ भन्ने लाग्यो । तेस्रो पटकको प्रयासमा म निर्देशक भएँ,’ उनले भने ।
दयाराम आफ्ना आमाबुवाका एक्ला सन्तान हुन् । संघर्षपूर्ण जीवन बिताएर सफलता हासिल गरे पनि एउटा पीडा भने उनलाई सधैं खड्किन्छ । उनले आफ्नो सफलता बुबाआमालाई देखाउन पाएनन् ।
उनका छोरा कम्प्युटर इन्जिनियरिङ पढ्दैछन् भने छोरी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातकोत्तर अध्ययनरत छिन् ।
दयाराम शर्मा पंगेनी आफ्नो करियरलाई इमानदारी र कर्तव्यनिष्ठाको आधारमा हेर्छन् । राष्ट्र बैंकले दिएको अवसरलाई उनले जीवनकै महत्वपूर्ण उपलब्धि ठान्छन् ।
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय एक्सपोजर, वित्तीय र मौद्रिक क्षेत्रमा काम गर्ने धरातल दियो । समाजमा दयाराम शर्मा पंगेनी भनेर चिनाउने र उच्च शिर गरेर बस्न दिएको उनी बताउँछन् ।

राष्ट्र बैंकमा योगदान
राष्ट्र बैंकको विजनेश कन्टिन्यूटी प्लान तयार गर्नुपर्ने थियो । संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहँदा बिजनेश कन्टिन्यूटी प्लानमा भूमिका खेलेको उनले सुनाए । बैंकिङ विभागमा रहँदा पनि आफूले धेरै नै कामहरु गरेको उनको दाबी छ ।
‘डिजिटल सर्भिस ट्याक्सको काम भएको थिएन । माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक लगायत केही सामाजिक सञ्जाल र सूचना प्रविधि कम्पनी सञ्चालनमा थिए । तर, करको दायरामा आएका थिएनन् । अर्थमन्त्रालयसँग समन्वय गरेर नेपालमा व्यवसाय गरेबापतको डिजिटल सर्भिस ट्याक्सको दायरा ल्याउने काम गर्याैं,’ उनले भने ।
भूटान, श्रीलङ्का, रसिया, म्यान्मार, अन्य अफ्रिकन मुलुक र बुद्ध धर्मावलम्बी रहका देशका नागरिकले आफ्नो देशको मुद्रा ल्याएर लुम्बिनीमा चढाउँछन् । लामो समयदेखि विभिन्न मुलुकका धर्मावलम्बीहरुले चढाएको उक्त रकम सटही हुन नसकेर कोषमा थुप्रिएको थियो । लुम्बिनी विकास कोषले उक्त मुद्रा सटहीका लागि राष्ट्र बैंकसँग पटक पटक अनुरोध गरिरहेको थियो । तर, राष्ट्र बैंकबाट सटहीको काम हुन सकिरहेको थिएन । रुपन्देहीमा रहेको लुम्बिनी विकास कोषको ननकन्भर्टेबल करेन्सीलाई सटही गर्ने काम पनि गरेको उनले सुनाए ।
‘लुम्बिनी विकास कोषले धेर पटक अनुरोध गरेको थियो । हामी अध्ययन गरिरहेका थियौं । तर, म गइसकेपछि यो काम गर्नुपर्छ है भनेर लुम्बिनी विकास कोष र राष्ट्र बैंकको भैरहवा कार्यालयसँग समन्वय गर्याैं, गभर्नरज्यूबाट पनि स्पष्ट निर्देशन आयो,’ उनले भने, ‘हाम्रो एजेन्सी बैंक सिंगापुरमा थियो, सीआइएमबि । दर्जनौं पटक अनुरोध गरेपछि करिब ६० लाख रुपैयाँ बराबर सिंगापुरबाट सटही गरेर लुम्बिनी विकास कोषलाई हस्तान्तरण गर्याैं ।’
स्ट्याण्डर्ड चार्टर्ड बैंकबाहेक सबै वाणिज्य बैंकले सरकारी कारोबार गर्छन् । तर, नेपाल बैंकसँग वर्षाैंदेखि अर्बाैं रुपैयाँ रिकन्सिलेसन हुन सकिरहेको थिएन । पछि आफ्नो नेतृत्वमा नेपाल बैंकसँगको सरकारी कारोबारको पनि हिसाबमा देखिएको समस्या समाधान गरेको उनले सुनाए ।