चिकित्सकबाट माननीय बनेकाहरू

बायाँबाट क्रमश : लेखजंग थापा, तोसिमा कार्की, दीपककुमार साह र आनन्दबहादुर चन्द ।

काठमाडौं । केही चिकित्सकहरूले चिकित्सा क्षेत्रबाट राजनीति क्षेत्रको यात्रा तय गरेका छन् । अस्पतालमा विरामीको सेवा गर्दै आएका उनीहरू सबैजना एउटै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अत्यधिक बहुमतले विजयी भएका हुन् । नागरिकको स्वास्थ्यको उपचार गर्दै आएका उनीहरू अब नीतिगत तहमा सुधार गर्नेवाचाका साथ संसदीय यात्रामा लागेका छन् । 

डा.लेखजंग थापा

वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापा  प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन् । रास्वपाबाट रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचन लडेका उनी प्रतिस्पर्धाभन्दा ५० हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । थापाले ५८ हजार ८ सय १४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत प्राप्त गरेका थिए । 

रूपन्देहीको अञ्चलपुरमा जन्मेका थापाले एमबीबीएस, इन्टर्नल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा एमडी गरेका छन् । उनी काठमाडौं महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरको न्युरोलोजी विभाग प्रमुख थिए । साथै उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन् ।

डा. शम्भु यादव

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर–३ मा रास्वपाका उम्मेदवार डा. शम्भु यादव विजयी भएका छन् । नेकपा एमालेका लीलानाथ श्रेष्ठलाई पराजित गर्दै यादव विजयी भएका हुन् । यादवले ३२ हजार २४९ मत प्राप्त गर्दा एमालेका श्रेष्ठले १० हजार १ सय ५६ मत प्राप्त गरे ।

सिराहाको पठेरवाका डा. यादवले २०६७ सालमा एमबीबीएस उत्र्तीण गरेपछि काठमाडौंका विभिन्न निजी अस्पतालमा काम गरेका थिए । एक वर्ष किस्ट अस्पताल र दुई वर्ष बिएन्डबी अस्पतालमा काम गरेका उनी पछिल्लो समय आफ्नै गृहजिल्ला सिराहाको मिर्चैया नगरपालिका–७ मा रहेको मिर्चैया हेल्थ पोलिक्लिनिकमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएका थिए । 

डा.तोसिमा कार्की

डा. तोसिमा कार्की दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । रास्वपाकी उम्मेदवार कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी भएकी हुन् । कार्कीले ४३ हजार ९६ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवार भन्दा पाँच गुणा बढी मत ल्याएकी छिन् ।  कार्कीका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् । 

यसअगाडिको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।

आनन्दबहादुर चन्द 

जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट विजयी भएका छन् । रास्वपाका उम्मेदवार चन्द ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै चन्द विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले ११ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् । सुदूरपश्चिमको बैतडीमा जन्मिएका चन्दले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापकका रूपमा काम गरेका छन् । 

उनी लामो समयदेखि  शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यका क्षेत्रको अभियानमा सक्रिय थिए ।

दीपककुमार साह

दृष्टि विशेषज्ञ दीपककुमार साह प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । २० पटक मन्त्री बनेका जसपा नेता शरतसिंह भण्डारीलाई पराजित गर्दै साह निर्वाचित भएका हुन् । महोत्तरी –२ मा रास्वपाबाट उम्मेदवार बनेर डा.साह ३२ हजार ७ सय २२ मतसहित विजयी भएका हुन् । 

भण्डारीले १० हजार १ सय ९८ मत ल्याएर हार बेहोरेका छन् । सो क्षेत्र भण्डारीको पकड क्षेत्र मानिथ्यो । विसं २०३८ साल देखि उनी त्यस क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए । यसपटक साहले भण्डारीको ४४ वर्ष अघिदेखिको किल्ला भत्काइदिएका छन् । साहको स्थायी ठेगाना महोत्तरी हो ।  

उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनले विश्वकै प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनबाट शिक्षा हासिल गरेका छन् । यसभन्दा अगाडि उनी त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए ।

Share News