चार पूर्वशिक्षामन्त्रीमध्ये खनाल र पुनमात्र विजयी

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा निर्वाचन लडेका चार जना पूर्वशिक्षामन्त्रीमध्ये दुई जनामात्र विजयी भएका छन् । प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका पूर्वशिक्षामन्त्री शिशिर खनाल र महावीर पुन विजयी भएका हुन् । पूर्वशिक्षामन्त्री नेपाल कम्युनिस्ट पार्टीका देवेन्द्र पौडेल र गिरिराजमणि पोखरेल भने पराजित भए । 

महावीर पुन 

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका पूर्वशिक्षामन्त्री महावीर पुन नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भए । पुन  २२ हजार ८ सय ५० मतका साथ विजयी भएका हुन् । पुन शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रूपमा पहल गर्ने मुद्दा अघि सार्दै निर्वाचनमा होमिएका थिए । 
           
शिशिर खनाल 

पूर्वशिक्षामन्त्री शिशिर खनाल काठमाडौं– ६ बाट विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका खनाल २७ हजार ७ सय ११ मतसहित विजयी भएका हुन् । उनी यसअघि २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत पाए । 

पोखरेल र पौडेल पराजित

पूर्वशिक्षामन्त्री पुन र खनाल विजयी हुँदा नेपाल कम्युनिस्ट पार्टीका देवेन्द्र पौडेल र गिरिराजमणि पोखरेल पराजित भए । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–२ बाट निर्वाचन लडेका पौडेलको जमानतसमेत जफत भएको छ । रास्वपाका उम्मेदवार नरेन्द्रकुमार गुप्तासँग पराजित भएका पौडेलले जम्मा १ हजार ८सय ३८ मत प्राप्त गरेका थिए । 

४४ हजार १ सय ३८ मत प्राप्त गर्दै गुप्ता विजयी भएका हुन् । 

गिरिराजमणि पोखरेल

२०७२ सालमा करिब ९ महिना र २०७४ सालमा ३२ महिना गरी दुई पटक शिक्षामन्त्री बनेका गिरिराजमणि पोखरेल पनि यस पटकको निर्वाचनमा पराजित भएका छन् । उनी १० वर्षमा पाँच पटक नेपाल सरकारको मन्त्री भइसकेका व्यक्ति हुन् । 

२०६४ सालयता चुनाव जित्दै आएका पोखरेल यो पटक महोत्तरीबाट पराजित भएका हुन् । रास्वपाका प्रमोदकुमार महतोसँग पराजित पोखरेलले  १२ हजार ६ सय २४ मत ल्याउँदै पराजय बेहोरेका छन् ।

Share News