काठमाडौं । विसं २०७६ देखि सिंहदरबारभित्र निर्माण सुरु गरिएको नयाँ संसद् भवनको काम हालसम्म पनि पूर्ण रूपमा टुंगिन सकेको छैन । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा गत बिहीबार सम्पन्न मतदानको परिणाम लगभग सार्वजनिक भइसकेको छ तर सांसदरू बस्ने मुख्य भवन अझै तयार भएको छैन ।
विशेष भवन निर्माण परियोजना इकाइका अनुसार हालसम्म यस परियोजनाको कुल ९४ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
सहरी विकास मन्त्रालयले चैत पहिलो साताभित्र भवन हस्तान्तरण गर्ने लक्ष्य राखेको भए पनि प्राविधिक सामानहरू विदेशबाट आयात गर्नुपर्ने बाध्यताका कारण तोकिएको समयमा काम सम्पन्न हुन नसकेको परियोजनाले जनाएको छ ।
परियोजना निर्देशक रोशन श्रेष्ठका अनुसार नयाँ सांसदहरूलाई शपथ खुवाउनका लागि मुख्य भवन निर्माण भइन्जेलका लागि साइडमा रहेको अर्को हल तयारी अवस्थामा राखिएको छ ।

रोशन श्रेष्ठ ।
मुख्य संसद् भवनका बाँकी कामहरू सम्पन्न गर्न अझै केही समय लाग्ने देखिए पनि निर्माण कार्यलाई तीव्रता दिन दिनरात काम भइरहेको र आगामी एक महिनाभित्र सम्पूर्ण निर्माण कार्य सकिने श्रेष्ठले जानकारी दिए ।
कुल ८ अर्ब ३४ करोड रुपैयाँको लागतमा निर्माणाधीन यस संसद् परिसरमा व्यवस्थापिकालाई आवश्यक पर्ने सम्पूर्ण संरचनाहरू एउटै क्षेत्रमा समेटिएका छन् ।
यसमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका हलसहित संसदीय दलका कार्यालय, सचिवालय भवन, अति विशिष्ट (भीभीआईपी) कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल र सेन्ट्रल लबीजस्ता संरचनाहरू निर्माणको अन्तिम चरणमा रहेका छन् । सबै कार्यालयहरू एकै ठाउँमा रहने भएकाले यसले संसदीय प्रक्रियालाई थप सहज बनाउने विश्वास लिइएको छ ।
तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज













