संसदीय यात्रामा रहेका पर्यटन व्यवसायीमध्ये कसले जिते, कसले हारे ?

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एक दर्जन पर्यटन व्यवसायसँग प्रत्यक्ष सम्बन्ध भएका व्यवसायी चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । होटल, ट्रेकिङ, पर्वतारोहण र पर्यटन व्यवस्थापन क्षेत्रमा सक्रिय उनीहरू विभिन्न दलबाट उम्मेदवार बनेका थिए ।

पछिल्लो निर्वाचन परिणाम हेर्दा केही उम्मेदवार विजयी भएका छन् भने अधिकांशले हार बेहोर्नुपरेको छ । निर्वाचनमा होमिएकामध्ये डिपी अर्याल, प्रकाशसिंह कार्की, धनञ्जय रेग्मी, योगेश गौचन थकाली र टेकबहादुर गुरुङ मात्रै संसदमा प्रवेश गर्न सफल भएका छन् ।

डोलप्रसाद अर्याल 

डिपी ट्राभल, ट्रेकिङ सर्भिस, होटेलसहितका पर्यट व्यवसायमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक उपसभापतिसमेत हुन् । उनले काठमाडौं क्षेत्र नम्बर ९ बाट चुनावमा उठेका थिए । अर्यालले ३५ हजार ९३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याएर दोस्रो भइन् ।

धनञ्जय रेग्मी 

पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा पर्यटन व्यवसायी धनञ्जय रेग्मीले रास्वपामार्फत स्याङ्जा–१ बाट चुनाव लडेका थिए । डा. रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गरे । ढकालले १८ हजार ८५७ मत प्राप्त गर्दा ढकालले १८ हजार ८५७ मत ल्याएका छन् ।

प्रकाशसिंह कार्की 

पर्यटन क्षेत्रमा लामो समय बिताएका प्रकाशसिंह कार्की नेपाली कांग्रेसबाट सोलुखुम्बु १ बाट चुनावमा उठेका थिए । वर्ल्ड फ्रेड कार्गोसहित विभिन्न पर्यटकीय गतिविधिमा सक्रिय कार्कीको संसदमा प्रवेश गर्ने यात्रा साकार भएको छ । उनले नेपाली कम्युनिष्ट पार्टीका असिम राईलाई पराजित गर्दै जीत निकालेका हुन् । उनले १३ हजार १६६ मत प्राप्त गरेका छन् भने राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् ।

योगेश गौचन

पर्यटन व्यवसायी योगेश गौचन थकालीले मुस्ताङमा नेपाली कांग्रेसबाट चुनावमा उठेका थिए । उनले नेकपा एमालेका इन्द्र धारा डादु विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गरेका छन् । उनले ३ हजार ३०७ मत प्राप्त गरेका छन् ।

टेकबहादुर गुरुङ

पर्यटन व्यवसायी टेकबहादुर गुरुङले मनाङमा नेपाली कांग्रेसबाट चुनावमा उठेका थिए । उनले पनि यस क्षेत्रबाट जीत हासिल गर्न सफल भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका यशोदा गुरुङ (सुवेदी)लाई १९ सय ६१ मतान्तरले पराजित गरेका हुन् । गुरुङले २ हजार ४१५ मत ल्याउँदा गुरुङले ४५४ मात्रै मत प्राप्त गरेकी छिन् ।

जसले चुनाव हारे

भागिरथ सापकोटा 

ठमेलमा गोछाली ट्राभल चलाउने पुराना पर्यटन व्यवसायी भागिरथ सापकोटा नवलपुर १ बाट एमालेबाट चुनावमा उठेका थिए । तर उनले जित हासिल गर्न सकेनन् । उक्त क्षेत्रमा रास्वपाका राजन गौतमले जित हासिल गरे । गौतमले ५० हजार ९४५ मतसहित जीत हासिल गर्दा सापकोटा भने ९ हजार १३१ मत ल्याएर तेस्रोमा सीमित भएका छन् ।

रमेशप्रसाद धमला

ठमेलमै केन्द्रित रही पर्यटन व्यवसायमा संलग्न रमेशप्रसाद धमला पनि संघीय संसदको दौडमा नेपाली कांग्रेसबाट धादिङ– २ बाट चुनावमा होमिए । उनी हिमालय इकोलोजी ट्राभलका सञ्चालकसमेत हुन् । उनले पनि जीत हासिल गर्न सकेनन् । उनी दोस्रो स्थानमै सीमित भए । उनलाई रास्वपाका बोध नारायण श्रेष्ठले हराएका हुन् । श्रेष्ठले २६ हजार १४५ मत पाउँदा धमलाले २० हजार २७९ मत ल्याएर दोस्रोमै चित्त बुझाउन बाध्य भएका छन्।

मिङ्मा शेर्पा

हेली एभरेष्ट र सेभेन स्टार समिटका सञ्चालक मिङ्मा शेर्पाले रास्वपाका तर्फबाट संखुवासभामा संघीय संसदका निम्ति चुनावमा उठे, तर उनले जीत निकाल्न सकेनन् । उनी ११ हजार १३५ मतसहित दोस्रो स्थानमा सीमित भए । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका अर्जुनकुमार कार्की विजयी भएका छन् । उनले १२ हजार ३९६ मतले विजयी भएका छन् ।

कृष्ण रिजाल 

पर्यटन व्यवसायी धाधिङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट चुनावमा उठेका थिए । तर उनको संसदमा प्रवेश गर्ने सपना साकार हुन सकेन । उक्त क्षेत्रमा रास्वपाका आसिका तामाङले ३९ हजार १२८ मत ल्याएर विजयी भएकी छिन् । रिजालले भने १० हजार ८० मत ल्याएर चौंथो नम्बरमा सीमित भए ।

कृष्णकुमार (किसान) श्रेष्ठ 

होटल व्यवसायमा लगानी रहेका कृष्णकुमार (किसान) श्रेष्ठ बारा–४ बाट चुनावमा उठेका थिए ।  उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उठेका थिए । तर जीत हासिल गर्न सकेनन् । उनलाई रास्वपाका रहबर अन्सारीले पराजित गरे । अन्सारी  ४१ हजार २ सय मत ल्याएर विजयी भएका छन् । श्रेष्ठले भने ११ हजार ६३९ मत ल्याएर दोस्रोमा सीमित भए ।

सुमन सायमी 

होटल व्यवसायी सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट काठमाडौं–८ बाट चुनाव लडेका थिए । तर उनलाई रास्वपाका विराज भक्त श्रेष्ठले पराजित गरेका छन् । श्रेष्ठले २४ हजार ५९२ मत ल्याउँदा सायमीले ३ हजार २१७ मत ल्याउर दोस्रोमा सीमित भए ।

प्रेमकुमार खत्री

ठमेलको चर्चित क्लब एलओडीसँगै एसीई दी हिमालयन ट्रेकिङका सञ्चालक प्रेमकुमार खत्रीले नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर १ मा चुनाव लडेका थिए । पछिल्लो मतपरिणामअनुसार खत्रीको पराजित सुनिश्चित भइसकेको छ । उक्त क्षेत्रमा रास्वपाका २८ हजार ९६५ मत ल्याउँदा खत्रीले १५ हजार २३० मात्रै प्राप्त गरेका छन्। 

Share News