पूर्वस्वास्थ्यमन्त्री सबै पराजित

काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका ८ जना पूर्वस्वास्थ्यमन्त्री सबै पराजित भएका छन् । ८ जनामध्ये ६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबाट पराजित भएका छन् भने एक जना नेपाली कांग्रेस र अर्को एकजना नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबाट पराजित भएका हुन्।  

गगन थापा

पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही– ४ मा पराजित भए । काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्दै आएका थापा यसपटक तराई झरेका थिए । उनी रास्वपाका अमरेश सिंहसँग पराजित भएका हुन् । 

रास्वपाका उम्मेदवार अमरेश सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा गगनले २२ हजार ८ सय ३१ मत ल्याए । २०६४ सालको निर्वाचनमा समानुपातिक सांसदको रूपमा संसद् पसेका थापा २०७० सालको निर्वाचन पछिका हरेक निर्वाचनमा प्रत्यक्षतर्फबाट विजयी हुँदै आएका थिए ।

उपेन्द्र यादव  

जसपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संसदीय यात्रामा पनि ब्रेक लागेको छ । 

सप्तरी– ३ बाट उम्मेदवार रहेका यादव रास्वपाका अमरकान्त चौधरीसँग पराजित भएका हुन् । चौधरीले ३२ हजार ८ सय ७५ मत ल्याउँदा यादवले १५ हजार २ सय ३० मत मात्र पाए । 

२०६४ सालको निर्वाचनमा मोरङ र २०७४ सालको निर्वाचनमा सप्तरी २ बाट विजयी भएका यादवको संसदीय यात्रामा ब्रेक लागेको हो । 

प्रदीप पौडेल  

नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि पराजित भएका छन् । काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभा निर्वाचन लडेका उनी रास्वपाका उम्मेदवार सस्मित पोखरेलसँग पराजित भए । पोखरेलले ३० हजार ७ सय ३७  मत ल्याउँदा पौडेलले १९ हजार ५१ मत ल्याए । 

प्रदीप यादव 

पूर्वस्वास्थ्यमन्त्री प्रदीप यादव पनि रास्वपाका उम्मेदवारबाट पराजित भएका छन् ।  जसपाबाट स्वास्थ्यमन्त्री बनेका यादव जसपा छाडेर नेकपा एमालेमा प्रवेश गरी योपटक पर्सा १ बाट उम्मेदवार बनेका थिए ।  रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त २७ हजार २ सय ७४ मत प्राप्त गरी विजयी हुँदा यादवले १३ हजार ३० मत प्राप्त गरेका थिए । 

पदम गिरी 

एमालेका नेता एवं पूर्वस्वास्थ्यमन्त्री पदम गिरी पनि पराजित भएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट पर्वत १ बाट उम्मेदवार बनेका उनी रास्वपाका उम्मेदवार सागर भुसालसँग पराजित भएका हुन् । भुसालले २६ हजार ५ सय ६१ मत ल्याउँदा गिरीले १५ हजार ७५ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो ।
  
शेरबहादुर तामाङ

एमालेबाटै चुनाव जितेर स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङ पनि पराजित भएका  छन् । फागुन २१ गते सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका उनी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलालसँग पराजित भएका हुन् । दुलालले २१ हजार ६ सय ९९ मत ल्याउँदा तामाङ १५ हजार ९ सय २६ मत ल्याए । 

भानुभक्त ढकाल 

पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि यसपटकको निर्वाचनमा पराजित भएका छन् । नेकपा एमालेबाट तेह्रथुम–१ मा उम्मेदवार बनेका ढकाल नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बासँग पराजित भएका हुन् ।  सुब्बाले ११ हजार ५ सय ६१ मत ल्याउँदा ढकालले १० हजार ६ सय ८२ मत ल्याएका थिए ।

गिरिराजमणि पोखरेल

दुई पटक स्वास्थ्यमन्त्री बनेका गिरिराजमणि पोखरेल फागुन २१ गतेको निर्वाचनमा पराजित भएका छन् । नेकपाबाट महोत्तरी –१ मा उम्मेदवार बनेका पोखरेल रास्वपाका प्रमोदकुमार महतोसँग पराजित भएका हुन् । महतोले ३४ हजार ६ सय ३६ मत ल्याउँदा पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेका थिए ।

Share News