दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको ऋण ४ अर्ब नाघ्यो, आम्दानी १.३९ अर्ब रुपैयाँ

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको झापास्थित बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले सन् २०२५ मा एक अर्ब रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको छ । कम्पनीका अनुसार सन् २०२५ मा मेडिकल कलेजको कुल सञ्चालन आम्दानी १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

यो अघिल्लो वर्षको तुलनामा ४४.३४ प्रतिशत अर्थात् ४२ करोड ७० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीको आम्दानी ९६ करोड ३० लाख रुपैयाँ रहेको थियो । कम्पनीका अनुसार बिरामी भर्ना र बाह्य सेवाको संख्या बढ्नुका साथै मेडिकल कलेज सञ्चालन सुरु भएपछि थप आम्दानीको स्रोत सिर्जना भएको छ ।

यद्यपि सञ्चालन लागत बढेकाले नाफा मार्जिन भने केही घटेको छ । सन् २०२५ मा कम्पनीको नाफा मार्जिन करिब २३ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष २६ प्रतिशत थियो ।

यसअघि बी एण्ड सी मेडिकलले सन् २०२३ मा ८१ करोड ५० लाख रुपैयाँ तथा सन् २०२२ मा १ अर्ब १९ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसैगरी सन् २०२१ मा ८१ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ५३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको तथ्यांक छ ।

सन् २०११ मा स्थापना भएको बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले पूर्वी नेपालमा स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षा क्षेत्रमा सेवा दिँदै आएको छ । झापामा रहेको यस संस्थाले विभिन्न विशेषज्ञ सेवा र अत्याधुनिक निदान (डायग्नोस्टिक) सुविधासहित स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालले बिरामीलाई उपचार सेवा उपलब्ध गराउनुका साथै चिकित्साशास्त्र सम्बन्धी शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको जनाएको छ । आधुनिक उपकरणसहितको परीक्षण सुविधा तथा अनुसन्धान गतिविधिमार्फत पूर्वी नेपालका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य संस्थाले राखेको छ ।

बी एण्ड सी मेडिकल कलेजले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कुल ऋण ४ अर्ब ४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ऋण ३ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ थियो । कम्पनीका अनुसार कुल ऋणमध्ये ३ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ दीर्घकालीन ऋण रहेको छ भने १० करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।

एक दशकभन्दा बढी समयदेखि स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय यस अस्पतालको व्यवस्थापन चार सदस्यीय सञ्चालक समितिले सम्हाल्दै आएको छ । अस्पतालका अध्यक्ष डा. रामबाबु गिरी रहेका छन् । साथै उनको संलग्नता सुनसरीको इनरुवामा रहेको सुपर स्पेसालिटी अस्पतालमा पनि रहेको छ ।

यस्तै, अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं रहेका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालका प्रवर्द्धक समेत हुन् । यस्तै, सञ्चालक समितिमा इन्दिरा गिरी र डा. निराजन प्रसाईं रहेका छन् ।

Share News