काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार दिउँसो सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा आयोजित विशेष समारोहबीच नव–निर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका हुन् ।
कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रिय सभामा १८ जना नयाँ सदस्य निर्वाचित भएका थिए ।
५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार यही फागुन २० गते १९ जना सदस्यको कार्यकाल समाप्त भएको थियो । रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान रहेको छ ।
माघ ११ गते भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल भएको थियो । उक्त तालमेलका आधारमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा निर्वाचित भएका थिए ।
बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका थिए ।
यसैगरी, कर्णाली प्रदेशबाट ललितजंग शाही र मीना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए ।