२५२ कम्पनीको सेयर मूल्य बढ्दा नेप्सेमा एक्लो बन्यो रिलायन्स स्पिनिङ मिल्स

काठमाडौं । निर्वाचन सम्पन्न भएपछि पहिलो पटक खुलेको सेयर बजारमा ‘तेस्रो सर्किट ब्रेक’ लागेर सोमबारको कारोबार बन्द भयो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ प्रतिशत (१६२.४३ अंक) ले बढेर २ हजार ८७५ विन्दुमा पुग्यो । नेप्सेका अनुसार यस छोटो अवधिमा २६१ कम्पनीको ११ लाख ४३ हजार ६७६ कित्ता सेयर ४ हजार ५१ पटक खरिदबिक्री हुँदा ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार २५२ कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

जम्मा ४ मिनेट मात्र चलेको बजारमा २७ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको नेप्सेले जनाएको छ । तर, समग्र बजारमा हरियाली छाउँदा रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य भने घटेको छ ।

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको रिलायन्स स्पिनिङ मिल्स फागुनको पहिलो सातादेखि दोस्रो बजारमा कारोबारमा आएको थियो । आईपीओ निष्कासन मूल्यभन्दा निकै कममा कारोबार खुलेको यस कम्पनीको सेयर मूल्य लगातार ९ कारोबार दिनसम्म बढेर ६८५.५० रुपैयाँसम्म पुगेको थियो ।

तर, सोमबार भने रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १.४९ प्रतिशत (१०.२० रुपैयाँ) ले घटेर ६७५.३० रुपैयाँमा झरेको छ । अधिकांश कम्पनीको सेयर मूल्य बढिरहँदा यस कम्पनीको सेयर भने ओरालो लागेको हो । सोमबार यस कम्पनीको जम्मा १० कित्ता सेयर किनबेच हुँदा ६ हजार ७५३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Share News