काठमाडौं । इरानले आइतबार मोज्तबा खामेनेईलाई देशको नयाँ सर्वोच्च नेता घोषणा गरेको छ । एसोसिएटेड प्रेस र रोयटर्सले इरानी सरकारी मिडियालाई उद्धृत गर्दै यस्तो जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मोज्तबा खामेनेई हालै युद्धको सुरुवाती चरणमा मारिएका अयातोल्लाह अली खामेनेईका छोरा हुन् । उनी यस पदका लागि प्रमुख दाबेदार मानिएका थिए । अली खामेनेईले सन् १९८९ देखि मृत्यु नहुन्जेलसम्म इरानमा शासन गरेका थिए ।
मोज्तबा खामेनेईको नियुक्तिसँगै इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) र अन्य कठोरपन्थी समूहहरूमा उनको नियन्त्रण हुनेछ ।
एसोसिएटेड प्रेसका अनुसार रिभोलुसनरी गार्डले उनको समर्थनमा वक्तव्य जारी गरेको छ । इरान समर्थित लेबनानी लडाकु समूह हेजबोल्लाहले पनि टेलिग्राममा मोज्तबा खामेनेईको तस्बिर राखी ‘आशीर्वादित इस्लामिक क्रान्तिका नेता’भनेर उल्लेख गरेको छ ।
यस नियुक्तिले इरानको शासनमा कठोरपन्थी शक्तिहरूको नियन्त्रण कायम रहने संकेत दिएको छ । साथै यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति सीधा चुनौतीको रूपमा पनि हेरिएको छ । ट्रम्पले इरानको नयाँ नेताको चयनमा अमेरिकाको पनि भूमिका हुनुपर्ने बताउँदै आएका छन् ।
ट्रम्पले यसअघि मोज्तबा खामेनेईलाई ‘हल्का तौलका नेता’ भनेर टिप्पणी गरेका थिए । उनले तेहरानमा आफ्नो स्वीकृति बिना नयाँ नेता चयन भए त्यो लामो समय टिक्न नसक्ने चेतावनी पनि दिएका थिए ।
‘उसले हामीबाट स्वीकृति लिनुपर्छ,’ ट्रम्पले एबीसी न्यूजसँग भनेका थिए, ‘यदि उसले हामीबाट स्वीकृति पाएन भने ऊ धेरै समय टिक्दैन ।’
यस विषयमा ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
उता अमेरिकासँगै इरानविरुद्ध आक्रमणको नेतृत्व गरिरहेको इजरायल रक्षा बल (आईडीएफ) ले आइतबार सम्भावित नयाँ उत्तराधिकारीहरूलाई समेत लक्षित गर्ने चेतावनी दिएको छ । फारसी भाषामा एक्समा पोस्ट गर्दै आईडीएफले उत्तराधिकारी चयन प्रक्रियामा सहभागी हुनेहरूलाई समेत निशाना बनाइने चेतावनी दिएको हो ।
मोज्तबा खामेनेईले इरानको नेतृत्व गर्न सक्छन् त ?
मोज्तबा खामेनेईले इरानको नेतृत्व गर्न सक्लान् कि सक्दैनन् भन्ने विषयमा मिश्रित धारणा देखिन्छ । धेरै विश्लेषकका अनुसार उनी लामो समयदेखि आफ्नो पिता अलि खामेनेईका नजिक रहेर पर्दापछाडिबाट प्रभाव जमाउँदै आएका व्यक्ति हुन् । विशेष गरी इरानको शक्तिशाली सुरक्षा निकाय इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग उनको निकट सम्बन्ध रहेको मानिन्छ, जसका कारण सत्ता सञ्चालनमा उनलाई संस्थागत समर्थन मिल्न सक्ने पश्चिमी विश्लेषकहरूको तर्क छ ।
तर धेरै पश्चिमी मिडियाले उनको अनुभव र वैधतामाथि प्रश्न पनि उठाएका छन् । उनी सार्वजनिक राजनीतिमा कहिल्यै ठूलो सरकारी पदमा देखिएका छैनन् र प्रायः पर्दापछाडि रहने व्यक्तिका रूपमा चिनिन्छन् । त्यसैले केही विश्लेषकका अनुसार यदि उनले नेतृत्व सम्हाले भने सुरुका वर्षहरूमा धार्मिक प्रतिष्ठान र सुरक्षा निकायहरूको प्रभाव निकै बलियो रहने सम्भावना छ ।
अर्कोतर्फ उनको चयनलाई लिएर केही टिप्पणीकारहरूले आलोचना पनि गरेका छन् । इरानियन रिभोलुसनपछि इरानमा राजतन्त्र अन्त्य भएको थियो, तर अहिले बुबाबाट छोरामा सत्ता सर्ने सम्भावनालाई केहीले ‘राजवंशीय शैलीको राजनीति’ भनेर व्याख्या गरेका छन् । त्यसैले पश्चिमी मिडियाको समग्र धारणा अनुसार मोज्तबा खामेनेई शक्तिशाली नेटवर्क भएका व्यक्ति भए पनि उनको नेतृत्वको प्रभाव र स्थायित्व कस्तो हुन्छ भन्ने कुरा अझै अनिश्चित मानिएको छ ।
खाडी देशमा इरानको आक्रमण जारी
इरानले क्षेत्रीय सहयोगी देशहरूमा आक्रमण जारी राख्दा खाडी क्षेत्रका मुलुकहरूले पूर्वाधारमा थप क्षति पुगेको बताएका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानबाट आएको मिसाइल र ड्रोन खतरासँग जुधिरहेको जनाएको छ । यूएईको रक्षा मन्त्रालयका अनुसार देशको हवाई सुरक्षा प्रणालीले बलिस्टिक मिसाइलहरू अवरोध गरिरहेको छ भने लडाकु विमानहरूले ड्रोनहरू नष्ट गरिरहेका छन् ।
शनिबार साँझ दुबई र अबुधाबीमा मिसाइल खतराको चेतावनी दिँदै साइरन बजाइएको थियो । दुबईको २३ मरिना भवनमा खसेको भग्नावशेषले एक पाकिस्तानी चालकको मृत्यु भएको दुबई मिडिया अफिसले जनाएको छ।
युद्धको असरले तेल महँगियो
मध्यपूर्वका प्रमुख ऊर्जा उत्पादक देशहरूले उत्पादन घटाएपछि अमेरिकी कच्चा तेलको मूल्य आइतबार साँझ प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।
युद्धका कारण होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द जस्तै भएपछि तेल बजारमा ठूलो अवरोध आएको छ । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुने भएकाले खाडी देशहरूलाई तेल निर्यात गर्न कठिन भएको छ ।
बहराइनले आइतबार ड्रोन आक्रमणबाट पानी प्रशोधन (डिसेलिनेसन) प्लान्टमा क्षति पुगेको जनाएको छ । यद्यपि पानी आपूर्तिमा असर नपरेको बताइएको छ ।
उता इरानले भने अमेरिकाले आफ्नो केश्म टापुमा रहेको पानी प्रशोधन प्लान्टमा आक्रमण गरेको आरोप लगाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार यसले ३० वटा गाउँको पानी आपूर्तिमा असर पारेको छ । तर अमेरिकी सेनाले उक्त आरोप अस्वीकार गरेको छ ।
फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानमा १ हजार ८५० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ । जसमध्य कम्तीमा १ हजार ३३० सर्वसाधारण रहेका छन् ।
यस युद्धका कारण १ लाखभन्दा बढी इरानी नागरिक विस्थापित भएका छन् । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको सामग्री)
थप सामग्रीहरू :
मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम
इरान : शून्यमा सत्ता, संकटमा शासन
खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित
इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली