रास्वपाको हालसम्म ४० जिल्ला ‘क्लिन स्वीप’, दुईतिहाइ बहुमतनजिक

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै देशको राजनीतिमा नयाँ इतिहास रचेको छ । ७७ मध्ये ४० जिल्लाका सबै निर्वाचन क्षेत्र जित्दै रास्वपाले क्लिन स्वीप गरेको छ भने देशव्यापी रूपमा दुईतिहाइ बहुमतनजिक पुगेको छ । प्रत्यक्षतर्फ १६५ सिटमध्ये मतगणना लगभग टुंगिन लाग्दा रास्वपाले १२२ सिट जितिसकेको छ । प्रत्यक्षमा दुईतिहाइका लागि आवश्यक ११० सिटभन्दा धेरै जित हासिल गर्दै रास्वपाले परम्परागत दलहरूको वर्चस्व तोडेको छ ।

यसअघि २०७९ को निर्वाचनमा रास्वपा २१ सिटसहित चौथो शक्ति बनेको थियो। त्यतिबेला प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ सिट जितेको थियो । तर छोटो समयमै पार्टीले देशव्यापी विस्तार गर्दै अहिले ठूलो राजनीतिक शक्ति बनेको छ । पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह को संयुक्त नेतृत्वमा चुनाव लडेको रास्वपाले यसपटक देशभर लहर नै सिर्जना गरेको विश्लेषण गरिएको छ । निर्वाचनअघि नै बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर पार्टी चुनावी मैदानमा उत्रिएको थियो ।

रास्वपाको लहरका कारण परम्परागत दलहरू कमजोर बनेका छन् । नेपाली कांग्रेस ले प्रत्यक्षतर्फ १७ सिट मात्रै जितेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ७ सिट जितेको छ र केही क्षेत्रमा अग्रता लिएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ७ सिट जितेको छ । नयाँ शक्ति श्रम संस्कृति पार्टीले पनि ३ सिट जितेर चासो बढाएको छ । यो पार्टीका नेता हर्क साम्पाङ को नेतृत्वमा केही समयअघि मात्रै गठन भएको थियो । स्वतन्त्रतर्फबाट महावीर पुन पनि निर्वाचित भएका छन् ।

देशका सातै प्रदेशमा रास्वपाको प्रभाव देखिएको छ। कोशी प्रदेशमा झापा, मोरङ, उदयपुर र ओखलढुंगासहित ४ जिल्ला क्लिन स्वीप भएका छन् । मधेश प्रदेशमा सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सासहित ६ जिल्ला क्लिन स्वीप भएका छन्। धनुषामा भने उम्मेदवारी खारेजको कारण विवादित अवस्था बनेको छ ।

बागमती प्रदेशमा काठमाडौंका १० वटै क्षेत्र, ललितपुर, नुवाकोट, चितवन, भक्तपुर, काभ्रे, मकवानपुरलगायत ११ जिल्ला क्लिन स्वीप भएका छन् । गण्डकी प्रदेशमा कास्की, तनहुँ, गोरखा, स्याङ्जा, नवलपुर, बागलुङ, पर्वत र लमजुङ गरी ८ जिल्ला क्लिन स्वीप भएका छन् । मनाङ र मुस्ताङ मात्रै कांग्रेसले जितेको छ ।

लुम्बिनी प्रदेशमा रुपन्देही, कैलाली, दाङ, गुल्मी, बर्दिया, नवलपरासी, अर्घाखाँची र प्युठान गरी ८ जिल्ला क्लिन स्वीप भएका छन् । सुदूरपश्चिममा कञ्चनपुर, बैतडी र डडेल्धुरामा ३ जिल्ला क्लिन स्वीप भएका छन् ।

कर्णालीमा भने कमजोर

देशभर बलियो लहर देखिए पनि कर्णाली प्रदेशमा भने रास्वपा अपेक्षाकृत कमजोर देखिएको छ । १२ निर्वाचन क्षेत्रमध्ये सुर्खेत-२ मा मात्रै रास्वपाका रमेश सापकोटा विजयी भएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ सिट आवश्यक पर्छ । प्रत्यक्षमा १२५ सिट नजिक पुगेको रास्वपाले समानुपातिकमा करिब ५९ सिट जिते स्पष्ट दुईतिहाइ बहुमत पुग्ने अनुमान गरिएको छ ।

नेपालको इतिहासमा २०१५ सालको चुनावपछि मात्रै दुईतिहाइ बहुमत आएको थियो, जब नेपाली कांग्रेस ले १०९ मध्ये ७४ सिट जितेको थियो । अहिले भने दशकौं पुरानो राजनीतिक समीकरणलाई तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी ले नयाँ राजनीतिक युग सुरु गरेको चर्चा हुन थालेको छ ।

Share News