साढे ३ लाख रुपैयाँमै बजारमा आयो नयाँ पल्सर

काठमाडौं । बजाज मोटरसाइकल ब्रान्डले बजाज पल्सर १५० को नयाँ संस्करण सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको नयाँ पल्सर १५० ले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

नयाँ संस्करणको पल्सर १५० मा आकर्षक नयाँ ग्राफिक्स, शक्तिशाली एफआई बीएस ६ इन्जिन, सिङ्गल–च्यानल एबीएस, एलईडी हेडल्याम्प तथा ब्लुटुथ सपोर्टसहितको फुल डिजिटल कन्सोल जस्ता आधुनिक फिचरहरू समावेश गरिएको छ । यी विशेषताले मोटरसाइकललाई अझ सुरक्षित, स्मार्ट र प्रयोगमैत्री बनाएको कम्पनीको भनाइ छ ।

मोटरसाइकलमा प्रयोग गरिएको इन्धन इन्जेक्सन (एफआई) प्रविधिले राम्रो माइलेज र सहज प्रदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी एबीएस प्रणालीले ब्रेकिङलाई अझ सुरक्षित बनाउनेछ भने डिजिटल कन्सोलले राइडिङ अनुभवलाई आधुनिक बनाउने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार नयाँ बजाज पल्सर १५० नेपालभरका बजाज अटोका आधिकारिक शोरुममार्फत उपलब्ध गराइएको छ । मोटरसाइकलको प्रारम्भिक मूल्य ३ लाख ५५ हजार ९ सय रुपैयाँ तोकिएको छ । नेपालमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाज मोटरसाइकलको आधिकारिक वितरकका रूपमा सेवा दिँदै आएको छ । कम्पनीले ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको जनाएको छ ।

त्यस्तै नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले पहिलेझैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक नपर्ने कम्पनीले जनाएको छ । शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले अन–द–स्पट फाइनान्समार्फत सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् ।

नयाँ पल्सर १५० को आगमनसँगै नेपाली युवा र मोटरसाइकल पारखीहरूले अझ शक्तिशाली, स्टाइलिस र प्रविधिमैत्री राइडिङ अनुभव पाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । इच्छुक ग्राहकहरूले नजिकैको बजाज शोरुममा गएर मोटरसाइकलबारे थप जानकारी लिन तथा टेस्ट राइड गर्न सक्नेछन् । 

Share News