हालसम्म ११ जिल्लाका ४६ निर्वाचन क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न क्षेत्रमा अभूतपूर्व सफलता हासिल गर्दै १० जिल्लामा ‘क्लिन स्वीप’ गरेको छ । राजधानी उपत्यकादेखि मधेस र तराईसम्म रास्वपाले
११ जिल्लाका सबै निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै नयाँ राजनीतिक लहर सिर्जना गरेको हो । 

सबैभन्दा ठूलो सफलता काठमाडौं उपत्यकामा देखिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सबै १५ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ सिटमा रास्वपाले विजय हासिल गर्दै उपत्यकामा पूर्ण वर्चस्व स्थापित गरेको हो । 

काठमाडौं–१ देखि १० सम्म क्रमशः रञ्जु दर्शना (न्यौपाने), सुनिल केसी, राजुनाथ पाण्डे, पुकार बम, सस्मित पोखरेल, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डोलप्रसाद अर्याल र प्रताप विष्ट निर्वाचित भएका छन् । भक्तपुर–१ मा रुकेश रन्जित र भक्तपुर–२ मा राजीव खत्री विजयी भएका छन् भने ललितपुर–१ मा बुद्धरत्न महर्जन, ललितपुर–२ मा जगदिश खरेल र ललितपुर–३ मा डा. तोसिमा कार्की विजयी भएका छन् । 

चितवनका तीनै निर्वाचन क्षेत्रमा पनि रास्वपाले विजय हासिल गर्दै क्लिन स्वीप गरेको छ । चितवन–१ मा हरि ढकाल, चितवन–२ मा पार्टी सभापति रवि लामिछाने र चितवन–३ मा सोविता गौतम विजयी भएका छन् । गौतमले भरतपुर महानगरकी मेयर रेनु दाहाललाई फराकिलो मतान्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेकी छन्। 

गण्डकी प्रदेशको कास्कीमा पनि रास्वपाले तीनै क्षेत्र जितेको छ । कास्की–१ मा खडकराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा विना गुरुङ विजयी भएका छन् । 

लुम्बिनी प्रदेशको रुपन्देहीमा पाँचै निर्वाचन क्षेत्रमा रास्वपाले जित दर्ता गर्दै पुराना दलका गढ भत्काएको छ । रुपन्देही–१ मा सुनिल लम्साल, रुपन्देही–२ मा सुलभ खरेल, रुपन्देही–३ मा लेखजंग थापा, रुपन्देही–४ मा कन्हैया बनियाँ र रुपन्देही–५ मा तौफिक अहमद खान विजयी भएका छन् । 

सुदूरपश्चिमको कैलालीमा पनि रास्वपाले पाँचै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–२ मा केपी खनाल, कैलाली–३ मा जगतप्रसाद जोशी, कैलाली–४ मा खेमराज कोइराला र कैलाली–५ मा आनन्दबहादुर चन्द विजयी भएका छन् । 

कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी, कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता विजयी भएका छन् । 

पूर्वी नेपालमा झापाका पाँचै निर्वाचन क्षेत्रमा पनि रास्वपाले क्लिन स्वीप गरेको छ । झापा–१ मा निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भुप्रसाद ढकाल र झापा–५ मा बालेन शाह विजयी भएका छन् । 

मधेस प्रदेशका सप्तरी र पर्सामा पनि रास्वपाको प्रभाव देखिएको छ । सप्तरीका चारै क्षेत्रमा क्रमशः पुष्पाकुमारी चौधरी, रामजी यादव, अमरकान्त चौधरी र सीताराम साह विजयी भएका छन् । पर्साका चारै क्षेत्रमा बुद्धिप्रसाद पन्त, सुशीलकुमार कानु, रामाकान्त चौरसिया र टेकबहादुर शाक्य निर्वाचित भएका छन् । 

त्यसैगरी, उदयपुरका दुवै निर्वाचन क्षेत्रमा पारशमणि गेलाल र सूर्यबहादुर तामाङ विजयी भएका छन् भने सिन्धुलीका दुईवटै क्षेत्रमा धनेन्द्र कार्की र आशिष गजुरेल निर्वाचित भएका छन् । 

Share News