कैलालीमा रास्वपाको क्लिनस्विप, २६ वर्षीय केपीको पनि जित

काठमाडौं । कैलाली-२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा उम्मेदवार केपी खनाल विजयी भएका छन् । २६ वर्षीय खनालले १९ हजार ५७ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरे। खनालले चौधरीलाई ७ हजार १०८ मतान्तरले पराजित गरेका हुन् । 

यसैगरी नेकपा (एमाले) का सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २१३ मत प्राप्त गरेका छन् । 

कैलालीमा यसपटक रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ । यसअघि कैलाली-१ बाट कोमल ज्ञवाली, कैलाली-३ बाट जगतप्रसाद जोशी, कैलाली-४ बाट खेमराज कोइराला र कैलाली-५ बाट आनन्दबहादुर चन्द विजयी भइसकेका छन् ।

यससँगै कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गर्दै ‘क्लिन स्वीप’ गरेको छ । 

Share News