काठमाडौं । सुनसरी- १ मा श्रम संस्कृतिका उम्मेदवार हर्क साम्पाङ राई निर्वाचित भएका छन् । उनले ३५ हजार ७४१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी शरिन तामाङले २७ हजार २४९ सय मत पाएकी छन् । नेकपा एमालेका टिकाराम लिम्बुले ६ हजार ४६३ मत र नेपाली कांग्रेसका सुजेन्द्र गोले तामाङले ३ हजार ९९० मत पाए ।
गत स्थानीय तहको निर्वाचनमा हर्क साम्पाङ राई २० हजार ८२१ मतसहित धरान उपमहानगरपालिकामा मेयर निर्वाचित भएका थिए । संघीय सांसद बन्न राईले मेयरबाट गत माघ ४ गते राजीनामा दिएका थिए ।
विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मेका हर्क राई त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए ।
उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् । अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसको केही समयपछि साम्पाङ अफगानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनी स्वदेश फर्किएर सामाजिक अभियन्ता बनेका थिए ।
साम्पाङले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाईको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट अभियन्ताको रूपमा परिचय बनाएका थिए । । सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको ख्याति फैलिँदै गएको थियो ।
सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्यूँ का त्यूँ रह्यो । साम्पाङले नै आयोजनाप्रति प्रश्न गरेका थिए । खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रे । उनले श्रमदान गरेरै भए पनि पानी खुवाउन सफल भए ।
धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथितिविरुद्ध साम्पाङले आवाज बुलन्द पार्दै गए । अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि उनी निरन्तर खबरदारीमा लागि रह्यो । नागरिकका सानातिना समस्यामा उनले आवाज उठाइरहँदा अरूको साथ नपाए पनि धरानका स्थानीयको भने पूर्णसाथ पाए ।
साम्पाङको सर्दु जलाधार क्षेत्र संरक्षण अभियानमा पनि योगदान रहेको छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । कृष्णनारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हालेका थिए ।
साम्पाङ २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उठेका थिए । उनले ४२२ मत पाएका थिए ।
एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, व्यानर, पर्चा लिएर भेटिइरहने साम्पाङले संसदीय यात्रासमेत सुरु गरेका छन् ।