सञ्चारकर्मबाट संसदमा

को हुन् जगदीश खरेल ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी भएका छन् । ललितपुर क्षेत्र नं २ को निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१  मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६  प्राप्त गरेका छन् ।

कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर-२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ मतदान गरेका थिए । यस क्षेत्रमा राजनीतिक दलबाट र स्वतन्त्रसमेत गरी २३ जना उम्मेदवार रहेका थिए ।

अन्तरिम सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा चार महिना काम गरेका खरेल पूर्वसञ्चारकर्मी हुन् । जेन–जी आन्दोलनपछिको सरकारमा उनको भूमिका प्रशंसनीय थियो । पूराना दललाई चुनावमा सहभागी गराउन पनि उनले सक्रिय भूमिका खेलेका थिए । 

उनले करिब साढे दुई दशक नेपाली सञ्चार क्षेत्रमा काम गरेको अनुभव छ । विशेष गरेर उनले टेलिभिजन प्रस्तोत्ता भएर काम गरे । २०५६ सालमा केएटिएच एफएम र इमेज च्यानल टेलिभिजनबाट सुरु भएको खरेलको पत्रकारिता यात्रा २५ वर्षभन्दा लामो छ । 

null

२०५९ असार २९ गतेदेखि निरन्तर एउटै संस्थामा आबद्ध रहे । एउटा संस्थामा लामो समय काम गरेर राम्रो प्रभाव पारेको उनको यो एउटा राम्रो विशेषता हो । उनले टेलिभिजन कार्यक्रम हटसिट सञ्चालन गरेर चर्चामा आएका थिए ।

मन्त्री बनेपछि पनि पत्रकार सुरेश रजकलाई सहिद घोषणा, पत्रकारिता क्षेत्रसँग सम्बन्धित नीतिगत पहल गरे ।  उनले अन्तरिम सरकारको मन्त्रीबाट राजीनामा दिएर रास्वपामा प्रवेश गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । 

दोलखाको कालिञ्चोक गाउँपालिका-सुनखानी भदौरेमा २०३९ साल साउन २२ गते जन्मिएका जगदीश खरेलले कालिनाग माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आए ।

खरेलले आरआर क्याम्पसबाट पत्रकारितामा आईएदेखि एमएसम्म अध्ययन पूरा गरे ।  औपचारिक अध्ययनमै सीमित नरही हाल उनी अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि अध्ययनरत छन् । 

Share News