रास्वपाले हालसम्म १०४ सिट जित्यो, समानुपातिकमा पनि ५० प्रतिशतभन्दा बढी मत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पछिल्लो मतपरिणामले देशको राजनीतिक परिदृश्यमा आमूल परिवर्तनको संकेत गरेको छ । हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित हासिल गर्दै दुई तिहाई बहुमत नजिक पुगेको छ ।

परम्परागत शक्ति मानिने दलहरू निकै पछि परेका छन् भने ‘घण्टी’ को लहरले देशभरका चुनावी नतिजालाई आफ्नो पक्षमा पारेको छ ।

प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ सिटको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसमा रास्वपा एक्लैले १०४ सिट जितेर इतिहास रचेको छ । बाँकी ३१ सिटको मतगणना जारी रहँदा पनि रास्वपाले नै अग्रता कायम राखेको छ ।

हालसम्मको नतिजाअनुसार रास्वपाले १०४ सिटमा विजयी भएको छ भने २० सिटमा अग्रता छ । यस्तै, नेपाली कांग्रेसले १५ सिटमा विजयी भएको छ । यस्तै, २ सिटमा अग्रता लिइरहेको छ । 

नेकपा एमालेले ७ सिट विजयी भएको छ भने ४ सिटमा अग्रता लिइरहेको छ । नेकपा ६ सिटमा विजयी भएको छ । २ सिटमा अग्रता लिइरहेको छ । 

राप्रपा १ सिटमा विजयी भएको छ । यस्तै, श्रम संस्कृति पार्टी १ सिटमा विजयी भएको छ भने २ सिटमा अग्रता लिइरहेको छ । स्वतन्त्रमा १ सिट विजयी भएको छ । 

प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीमा पनि रास्वपाले अप्रत्याशित जनमत प्राप्त गरेको छ । कुल २६ लाख ३० हजार मतगणना हुँदा रास्वपाले १३ लाख २१ हजारभन्दा बढी मत पाएको छ । यो कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी हो । 

यही अनुपात कायम रहेमा समानुपातिकतर्फका ११० सिटमध्ये रास्वपाले ५५ देखि ६० सिटसम्म प्राप्त गर्ने देखिन्छ । यसले गर्दा सदनमा रास्वपाको उपस्थिति अत्यन्तै शक्तिशाली हुने निश्चित भएको छ । 

प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये दुई तिहाई बहुमतका लागि १८४ सिट आवश्यक पर्दछ । हालको ट्रेन्डअनुसार रास्वपाले प्रत्यक्षतर्फ करिब १२४ सिट र समानुपातिकतर्फ ६० सिटसम्म जित्ने सम्भावना छ ।

यसरी हेर्दा रास्वपा १८४ सिटको दुई आँकडा पार गर्दै दुई तिहाई बहुमतको सरकार बनाउने दिशामा दृढताका साथ अघि बढेको देखिन्छ ।
 

Share News