सरकारसँग चित्त नबुझेर एआईजीबाट राजीनामा दिए, रास्वपामा लागेको तीन महिनामै सांसद बने

विश्वराजको सरकारी कर्मचारी, एआईजीदेखि सांसदसम्मको यात्रा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ओलखढुङ्गाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन् । उनले १३ हजार ९५३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई पराजित गर्दै ५ मतले निर्वाचित भएका हुन् । अन्तिम नतिजा घोषणा भने हुन बाँकी नै रहेको छ । लुइँटेलले १३ हजार ९४८ मतामात्र पाएका छन् । 

नेपाली कम्युनिस्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार २९६ मत ल्याएर तेस्रो भएका छन् भने एमाले उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेर चौथो स्थानमा सीमित बनेकी छन् । 

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले २०७९ मा पदबाट राजीनामा दिएका थिए । आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेपछि पोखरेल असन्तुष्ट बन्दै पदबाट राजीनामा दिएका थिए । 

महानिरीक्षकको दौडमा रहेका उनलाई पाखा लगाउँदै तत्कालीन सरकारले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले पनि धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले राजीनामा दिएका थिए । 
 
मंसिरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे लगत्तैबाट उनी चुनावी अभियानमा जुटेका थिए । उनले पार्टीबाट टिकट पाएपछि ओखलढुङ्गामा सिर्जनात्मक ढङ्गबाट प्रचारप्रसार गरेका थिए । 

२०२३ सालमा ओखलढुंगामा जन्मिएका पोखरेल २०४९ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । इन्स्पेक्टर हुँदा उनले काठमाडौं उपत्यकाका तीन जिल्लाको अनुसन्धान गर्ने मुख्य जिम्मेवारी पाएको अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरेका थिए । 

एसपी हुँदै उनी प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी परिसर काठमाडौंको ट्वाइसी भएर काम गरे। एसएसपी हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हाले । उनले ट्राफिक प्रहरी, विमानस्थल सुरक्षा, लागूऔषध नियन्त्रण ब्यूरो जस्ता युनिटको नेतृत्व गरे । 

उनले लाइबेरिया र हाइटीमा दुई वर्ष मिसनमा काम गरेको अनुभव पनि उनीसँग छ । प्रहरी बाहेक उनीसँग थप दुई क्षेत्रको अनुभव छ । २०३९ सालमा रुम्जाटार माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि उनी काठमाडौं छिरे । 

नेपाल ल क्याम्पसबाट २०४६ सालमा बीएल उत्तीर्ण गरे । अनि लोकसेवा पास गरेर न्याय सेवा अन्तर्गत डिट्ठाको जागिरे भए । डिट्ठा हुनुअघि पोखरेलले विकास सेवातर्फको खरिदारमा स्थायी नाम निकालेका थिए । विकास सेवामा पनि काम गरेका उनले प्रहरी सेवा बाहेक न्याय र विकासतर्फ गरी ७ वर्ष काम गरेको अनुभव छ । समग्रमा प्रहरीमा २९ वर्ष सहित उनले ३६ वर्ष सरकारी सेवाका तीन क्षेत्रमा काम गरेका छन् । 
 

Share News