ओली नेतृत्वबाट हट्नुपर्ने माग राख्दै एमाले मकवानपुरका अध्यक्षले दिए राजीनामा

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन  २०८२ मा नेकपा एमालेले लज्जास्पद हार व्यहोरेपछि नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले जनमतको कदर र पार्टीको खराब नतिजाको नैतिक जिम्मेवारी लिँदै आजकै मितिदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

उनले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनको बाटो खुला गर्न आग्रह गरेका छन् । पार्टीले भोगेको अनपेक्षित पराजयपछि पार्टीभित्र नतिजाको जिम्मेवारी लिने र नेतृत्वलाई दबाब दिनुपर्ने उनको भनाइ छ । 

नेतृत्वको कार्यशैलीप्रति कडा प्रहार गर्दै उनले लेखेका छन्, ‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इष्र्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन ।’ 

पोखरेलले नेकपा माले हुँदै एमालेको ४५ वर्षे यात्रामा अहिले पार्टीले भोगेको परिणामबारे गम्भीर समीक्षा गर्नुपर्ने उल्लेख गरेका छन् । 
 

Share News