बैतडीमा रास्वपाको जित : हरिमोहन भण्डारी २२ हजारभन्दा बढी मतसहित विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी बैतडीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

भण्डारीले २२ हजार १ सय ३४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का चतुरबहादुर चन्दले १८ हजार १ सय ९४ मत ल्याए।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा तीन पटक लगातार निर्वाचित भई चार पटक मन्त्रीसमेत बनेका दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरे। नेपाल कम्युनिष्ट पार्टी का परमानन्द भट्टले ६ हजार ९ सय ६५ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी का भुपेनबहादुर चन्दले २ हजार ६८१ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैतडीमा ७२ हजार ८४३ मत खसेको थियो। त्यसमध्ये ५ हजार ११३ मत बदर भएको छ।

भण्डारीको राजनीतिक यात्रा भने निकै उतारचढावपूर्ण रह्यो। उनले आफ्नो राजनीतिक यात्रा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट सुरु गरेका थिए। पछि नेपाली कांग्रेस मा प्रवेश गरेका उनी यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टी बाट चुनावी मैदानमा उत्रिएका थिए।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका भण्डारी तत्कालीन नेकपा माओवादी केन्द्र का प्रेमप्रकाश भट्टसँग पराजित भएका थिए।

२०७९ सालमा कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए। त्यसबेला उनी कांग्रेसका आधिकारिक उम्मेदवार बिरबहादुर बिष्टभन्दा बढी मत ल्याए पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुरेन्द्र पालसँग पराजित भएका थिए।

कांग्रेसबाट विद्रोह गरेपछि उनीमाथि कारवाहीसमेत भएको थियो। चुनाव नजिकिँदै जाँदा कारवाही फुकुवा गरिए पनि उनी त्यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरिसकेका थिए।

रास्वपामा प्रवेश गरेसँगै यसपटक भण्डारीले विजय हासिल गर्दै संसदीय यात्राको नयाँ अध्याय सुरु गरेका छन्।

Share News