काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरू समाज परिवर्तनका निर्णायक शक्ति रहेको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको अवसरमा प्रचण्डले सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै महिलाहरू समाज परिवर्तनका निर्णायक शक्ति रहेको बताए।
उनले इतिहासका विभिन्न कालखण्डमा महिलाहरूले देखाएको अदम्य साहस, त्याग र बलिदानीपूर्ण संघर्षकै परिणामस्वरुप आजका महत्वपूर्ण अधिकारहरू प्राप्त हुन सकेको उल्लेख गरेका छन्।
सन्देशमा प्रचण्डले व्यवहारिक जीवनमा अझै पनि महिलामाथि असमानता र हिंसा पूर्ण रूपमा अन्त्य नभएको औंल्याएका छन्। उनले भनेका छन्, 'स्वतन्त्रता र अधिकारका नाममा बजारवादी पूँजीवादी संरचनाले महिलामाथि नयाँ–नयाँ रूपका शोषण र असमानता पनि सिर्जना गरिरहेको यथार्थ हाम्रो सामु छ।'
संयोजक प्रचण्डले अबका प्रयासहरू सबैखाले शोषण र विभेदको अन्त्य गर्दै महिलालाई साँचो अर्थमा अनुभूतिको तहसम्म समानता स्थापित गर्नमा केन्द्रित हुनुपर्ने बताएका छन्।
संविधानमा प्राप्त अधिकारहरूको रक्षा गर्दै जनसङ्ख्याको अनुपातअनुसार राज्यका सबै तह र संरचनामा महिलाको समानुपातिक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने दिशामा दृढताका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।