महानगरमा पराजित गनेसको परिचयमा थपियो सांसद

काठमाडौं । साहित्यिक वृत्तमा परिचित नाम हो, गनेस पौडल । खास नाम ‘खडगराज’ भए पनि उनलाई धेरैले गनेस भनेर चिन्छन् । उनी लेखक मात्र नभएर पठन संस्कृतिका प्रवर्द्धक समेत हुन् । पौडेलको परिचय अब यत्तिमा मात्र सीमित रहेन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की-१ बाट विजयी भएसँगै अब उनको परिचयमा ‘सांसद’ थपिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेल ३९ हजार ८८३ मतसहित विजयी भएका हुन् । पोखरामा बसेर साहित्य लेखन, पठन संस्कृतिको प्रवर्द्धनसँगै सामाजिक मुद्दामा पैरवी गर्दै आएका उनले अन्ततः आफूलाई राजनीतिमा समाहित गरेका छन् । पोखरा महानगरपालिका-१४ मझेरीपाटनका पौडेलले सक्रिय राजनीतिमा आउन चाहेको भने विसं २०७९ देखि नै हो ।

स्थानीय तहको चुनावलाई निर्दलीय बनाउनुपर्ने एजेण्डासहित विसं २०७९ को स्थानीय तह चुनावमा उनी पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका थिए । त्यो बेला ‘लौरो’ चिह्न लिएर चुनाव लडेका उनले ५ हजार १२८ मत ल्याएर पराजित भएका थिए । 

पौडेलले दलीय एकाधिकार, भ्रष्टचार र बेथितिविरुद्ध ‘अटेरी अभियान’ सञ्चालन गरेका थिए । उक्त चुनावमा पोखरासहित देशका विभिन्न स्थानीय तहमा ‘अटेरी अभियान’ का सदस्यले उम्मेदवारी दिएका थिए ।

स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेल यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने राजनीतिक दलबाटै उम्मेदवार बनेर विजयी भएका हुन् । निर्वाचित भएपछि रास्वपाका केन्द्रीय सदस्य उनले आफूले मतदाताको माग र आकङ्क्षालाई नीतिगत तहबाट सम्बोधन गर्ने बताए । 

‘रास्वपाले अहिले पाएको मत आशाको मत हो, मतदाताले हामीप्रति भरोसा गरेर मत दिएका छन् । मतदाताको आशालाई निराशामा बदलिन दिनुहुँदैन, दिँदैनौँ,’ उनले भने । 

पौडेलले ‘जेनजी’ आन्दोलनमा युवा पुस्ताबाट प्रकट भएको आकङ्क्षालाई लिपिबद्ध गर्न र आन्दोलनका मागलाई नीतिगत तहमा लैजान आफूले भूमिका खेल्ने बताए । नीति निर्माणसँगै स्थानीय विकासका मुद्दामा प्राथमिकता छुट्टाएर काम गर्ने उनको भनाइ छ । पौडेल वातावरण, सम्पदा, कला, संस्कृतिको संरक्षणका मुद्दालाई विभिन्न माध्यमबाट प्रखर उठाउँदै आएका छन् । विसं २०७४ मा पहिलो उपन्यास कृति ‘पैताला’बाट लेखकका रूपमा उदाएका उनी अखबारी लेखनमा उत्तिकै सिद्धहस्त छन् । 

विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको पुस्तक ‘अफ् माइस एण्ड मेन’ को नेपाली संस्करण ‘मुसा मानुष’ पनि पौडेलद्वारा अनुदित कृति हो । पौडेल पोखरामा पठन संस्कृतिको विकासका लागि स्थापित ‘र्यान्डम रिडर्स सोसाइटी अफ् नेपाल’को परिकल्पनाकारसमेत हुन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रका नागरिकका सरोकारका विषय उठानमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । 

विसं २०३६ मा पोखरा महानगरपालिका–१४ मझेरीपाटनमा जन्मनुभएका पौडेलले पोखरा विश्वविद्यालयबाट एमबिए र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन् । उनीसँग शिक्षण पेसाको अनुभव पनि छ ।

कास्की–१ मा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४, नेकपा (एमाले) का वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ र नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले २ हजार ४७९ मत ल्याएका छन् । 

Share News