सिन्धुली-१ मा धनेन्द्र कार्की र २ मा आशिष गजुरेल विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं १ र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)० का उम्मेदवार निर्वाचित भएका छन् । 

सिन्धुली क्षेत्र नं १ रास्वपाका धनेन्द्र कार्कीले १६ हजार २६५ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृत निमा घिमिरेले जानकारी दिइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदीपकुमार कटुवाल क्षेत्रीले १५ हजार ६६८, नेपाली कांग्रेसका उज्ज्वलप्रसाद बरालले १५ हजार २, नेपाली कम्युनिष्ट पार्टीका डेकेन्द्रप्रसाद सुवेदीले ४ हजार ६५४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का रामनारायण अधिकारीले ४९८ मत प्राप्त गरेका छन् । 

सिन्धुली-१ मा कुल खसेको ५९ हजार ३०२ मतमध्ये ५६ हजार २० मत सदर भएको र ३ हजार २८२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सिन्धुली-२ मा गजुरेल विजयी

सिन्धुली क्षेत्र नं २ मा रास्वपाका आशिष गजुरेलले १७ हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचित भएका गजुरेल यातायात विज्ञका रुपमा चिनिन्छन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गरे ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मनोजजङ्ग थापाले ११ हजार ६०६, नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कमल राज विष्टले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा कुल ५६ हजार ८०३ खसेकामा ३ हजार १४२ मत बदर भएको छ ।

Share News