काठमाडौं । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् ।
रुपन्देही-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम परिणामअनुसार लम्साल ५४ हजार ८४५ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रज्वल बोहराले ८ हजार ३०१ मत प्राप्त गरे । यस क्षेत्रमा १ लाख ४३ हजार ८२४ मतदाता रहेकामा ६६ हजार ३७७ ले मतदान गरेका थिए ।
यस्तै, रुपन्देही-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तौफिक अहमद खान विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार खानले ३८ हजार ८०६ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खीमलाल भट्टराईले १३ हजार १००, नेपाली कांग्रेसका भरत कुमार शाहले १२ हजार ६२४, नेपाल कम्युनिष्ट पार्टीका मोहम्मद वकिल मुसलमानले छ हजार १७६ मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा एक लाख ३४ हजार ४४२ मतदाता रहेकामा ८१ हजार ३५ मत खसेको थियो ।