पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल, आवश्यकता भन्दा बढी उत्साहित नहुनू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम रास्वपाको पक्षमा आइरहेका बेला प्रवक्ता झाले आवश्यकता भन्दा बढी उत्साहित नभई त्यसलाई देशको समस्या समाधान गर्ने जिम्मेवारीको रुपमा बुझेर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका हुन् । 

धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा भारी मतले निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ मतदाताले आफूहरुलाई विश्वास गरेकाले उनीहरुलाई निराश हुन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । प्रवक्ता झाले आफू र आफन्तका लागि नभई देशका लागि राजनीति गर्न आएकाले त्यसमा सुधार हुँदै जाने कुरामा शंका गरिरहनु नपर्ने जिकिर समेत गरे । 

उनले भने, ‘कुनै पनि सबै जनता जाग्ने गर्दछ । अनि परिवर्तन हुन्छ । त्यस्तै नेपालमा पनि त्यो अवस्था आयो । अब राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन सरकार, रवि लामिछानेको नेतृत्वमा रहेको पार्टी, यो सबैले नै देशको समस्या समाधान गर्छ भनेर नै एक किसिमको विश्वास मतदातामा भयो । र त्यो ब्यालेटमार्फत बक्ससम्म पुग्यो । र, परिणामहरु हामीले देखिराखेका छौँ ।’

प्रवक्ता झाले राष्ट्रिय स्वतन्त्र पार्टीले नेता नभई सहककर्ताको रुपमा जनताको सेवा गर्ने समेत बताए । 

Share News