काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सम्पूर्ण जिम्मेवारी र दलीय राजनीतिबाट तत्कालका लागि अलग हुने घोषणा गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत मिश्रले आफू अब ‘गैरदलीय’ (स्वतन्त्र) रूपमा वैचारिक अभियानमा सक्रिय रहने जानकारी दिए ।
काठमाडौं– १ मा पराजित भएसँगै उनले राजीनामा दिएका हुन् ।
उनले आफ्नो राजीनामा कुनै निराशा वा हतारको उपज नभई गहिरो आत्ममन्थनको परिणाम भएको बताएका छन् ।
मुलुकमा राजसंस्थाको पक्षमा जनलहर हुँदाहुँदै पनि राप्रपाले त्यसलाई सही ढंगले पूँजीकृत गर्न नसकेको उनको ठहर छ । यसमा नेतृत्वको हैसियतले आफू पनि जिम्मेवार रहेको उनले स्वीकार गरेका छन् ।
‘विचारभन्दा माथि देश’ र ‘देशका लागि नरेश’ को मार्गलाई अघि बढाउन संरचनागत पुनरावलोकन आवश्यक रहेको र विद्यमान दलीय संरचनाबाट त्यो सम्भव नदेखेको पनि मिश्रले संकेत गरे ।
उनले भर्खरै सम्पन्न निर्वाचनमा सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिँदै नेपाली राजनीतिको दिशाप्रति चिन्तासमेत व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘‘प्रचण्डपथ’ मा पट्टी लगाएको घोडा सरह एकोहोरो दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस् भन्ने कामना गर्दछु ।’
मिश्रले दलीय राजनीति छाडे पनि आफ्ना मुद्दाहरूबाट पछि नहट्ने पनि प्रस्ट पारेका छन् ।