काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवाबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् । उनले १० हजार ६ सय ५६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । मतगणनाको सुरुदेखि नै अग्रता कायम गरेका आचार्य अन्ततः विजयी बनेका हुन् ।
यो आचार्यको तेस्रो जित हो । उनी यसअघि २०७४ र २०७९ सालमा पनि रसुवा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् ।
हिजो सम्पन्न मतदानमा रसुवामा ६०.६१ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा कुल २५ हजार १ सय ३६ मत खसेको हो । रसुवा जिल्लामा कुल ४१ हजार ४ सय ७१ मतदाता रहेका छन् ।