काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७११ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत पाए ।
खनालको संसदको यात्रा यो दोस्रो पटक हो । २०७९ को चुनावमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
खनाल शिक्षा क्षेत्रका जानकार मानिन्छन् । उनी यसअघि छोटो समयका लागि शिक्षा मन्त्री समेत बनेका थिए ।
टिच फर नेपालका संस्थापकमध्येका एक रहेका खनाल दुर्गम क्षेत्रको शिक्षा सुधारमा काम गर्दै आएका थिए । ‘टिच फर नेपाल’ को नेतृत्व गरेका खनालले राजनीतिमा आउनुअघि सार्वजनिक शिक्षा सुधारको अभियान चलाएका थिए ।
४७ वर्षीय खनाल टोखा १० गोंगबुका बासिन्दा हुन् । उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् ।
२०७४ को चुनावपछि उनी तुलसीपुर उपमहानगरको शिक्षा सल्लाहकार भएका थिए । उनले महात्मा गान्धीको विचारमा आधारित सर्वोदय अभियानमार्फत श्रीलङ्का, भारत, अमेरिकालगायतका ठाउँहरुमा सामाजिक विकास र प्राकृतिक प्रकोप व्यवस्थापनका उल्लेखनीय काम गरेका छन् ।