पूर्वअर्थमन्त्री: रेड जोनमा पौडेल र महत, मतान्तर बढाउँदै वर्षमान र जनार्दन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री संघीय संसदमा पुग्न प्रतिस्पर्धामा रहेका छन् । प्रत्यक्षतर्फ उम्मेदवारी दिएका पूर्वअर्थमन्त्रीहरूमा विष्णुप्रसाद पौडेल, वर्षमान पुन, जनार्दन शर्मा, ज्ञानेन्द्रबहादुर कार्की र प्रकाशशरण महत रहेका छन् । त्यस्तै, पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर जबरा पनि प्रत्यक्ष निर्वाचनबाट उम्मेदवार बनेका छन् । उनीहरू उम्मेदवार रहेका विभिन्न क्षेत्रमा मतगणना जारी छ ।

रुपन्देही-२ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल १८ हजार ५३९ मतसहित फराकिलो अग्रतामा रहेका छन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ हजार ९९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले २ हजार ४५० मत पाएका छन् । नेकपाका सुभाष पाण्डे (विश्वदीप)ले ४९८ मत र श्रम संस्कृति पार्टीका भीमबहादुर गौतमले ४४३ मत प्राप्त गरेका छन् ।

रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा १ हजार १७२ मतसहित अग्रस्थानमा छन् । नेपाल कम्युनिस्ट पार्टीका गोपाल शर्माले ८६४ मत र नेपाली कांग्रेसका राजु केसीले ५१३ मत प्राप्त गरेका छन् ।

रोल्पाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वर्षमान पुन १ हजार ४२१ मतसहित अग्रतामा छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का चुडामणी वलीले ५५७ मत, नेकपा एमालेका गोकुल प्रसाद घर्तीले २११ मत, नेपाली कांग्रेसका सुदन कुमार वलीले १५६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ७७ मत र मंगोल नेशनल अर्गनाइजेशनका कुमार घर्ती मगरले ४१ मत प्राप्त गरेका छन् ।

नुवाकोट-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिना ५७९ मतसहित अग्रस्थानमा छन् । नेकपा (एमाले) का बद्री मैनालीले ५१५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रकाश शरण महतले ३७९ मत पाएका छन् । नेपाल कम्युनिस्ट पार्टीका हितबहादुर तामाङले ३३८ मत प्राप्त गरेका छन् ।

यता पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी-४ मा भने मतगणना सुरु हुन बाँकी रहेको जनाइएको छ ।

यसैबीच ललितपुर-१ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबराले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ५ हजार ४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ३ हजार २४३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । यस्तै, नेकपा एमालेका चेतनाथ सञ्जेलले २ हजार ९२२ मत, उज्यालो नेपाल पार्टीका पदम कुमार लामाले ७९२ मत ल्याएका छन् ।

Share News