काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना जारी रहँदा समानुपातिक प्रणालीतर्फ भने नयाँ राजनीतिक शक्तिको प्रभाव देखिन थालेको छ । पछिल्लो प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिँदै पुराना दलहरूलाई पछि पारिरहेको छ ।
निर्वाचन आयोग नेपालका अनुसार अहिलेसम्मको पछिल्लो मतगणनाको विवरणमा रास्वपाले १ हजार ९५ मत प्राप्त गर्दै अग्रता कायमै बनाएको छ । प्रारम्भिक चरणमै रास्वपाले देखाएको यो मत परिणामले सहरी तथा सचेत मतदातामाझ ‘घण्टी’ चुनाव चिन्हप्रति आकर्षण बढेको संकेत दिएको छ ।
समानुपातिकको दौडमा नेपाली कांग्रेस ३७३ मतका साथ दोस्रो स्थानमा देखिएको छ । तर, रास्वपासँग कांग्रेसको मतान्तर ७२२ पुगेको छ, जसले प्रारम्भिक नतिजामै नयाँ दलको प्रभाव देखिएको विश्लेषण भइरहेको छ ।
त्यस्तै, समानुपातिकमा परम्परागत रूपमा बलियो मानिने नेपाल कम्युनिस्ट पार्टी (एमाले) भने सुरुआती गणनामै चौथो स्थानमा देखिएको छ। एमालेलाई उछिन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तेस्रो स्थानमा उक्लिएको छ । राप्रपाले १४७ मत पाउँदा एमालेले १०८ मत मात्र प्राप्त गरेको छ ।