काठमाडौं-१ मा एमालेसहित २६ उम्मेदवारको जमानत जफत हुने, शाहीको शून्य मत

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-१ मा नेकपा (एमाले)का उम्मेदवारसहित २६ जना उम्मेदवारको जमानत जफत हुने भएको छ । खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार उनीहरूको जमानत जफत हुने भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका-२०८२ को दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान रहेको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले १० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्ने व्यवस्था छ ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी भइसकेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र ले ३ हजार ९७२ मत पाएका छन् । 

क्षेत्र नम्बर १ मा ४८ हजार ४८९ मतदाता रहेकोमा २८ हजार मत खसेको थियो । १० प्रतिशत मत ल्याउनका लागि कम्तीमा २ हजार ८०० मत आवश्यक थियो । तर नेकपा (एमाले) का उम्मेदवार मोहनराज रेग्मीले १ हजार ६१८ मत मात्र प्राप्त गरेपछि उनको पनि जमानत जफत हुने भएको छ ।

यसैगरी उज्यालो नेपाल पार्टी का मोहनराज रेग्मी, श्रम संस्कृति पार्टीका समीर तामाङ लामा र नेपाल कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीको जमानत पनि जफत हुने देखिएको छ ।

यसैबीच नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेका अर्जुनबहादुर शाहीले शून्य मत प्राप्त गरेका छन् । यस्तै, राजु भुजेल, शान्ति श्रेष्ठ, संगीत बम्मले एक मत मात्र प्राप्त गरेका छन् । राजकुमार लिम्बु, कमल सुवेदी, किरण शाह र रमेशप्रसाद जोशीले २ मत पाएका छन् ।

Share News