तीन पूर्वप्रधानमन्त्री: ओली र नेपाल रेड जोनमा, अग्रता लिँदै प्रचण्ड

काठमाडौं । प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका तीन पूर्वप्रधानमन्त्रीमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्रता कायम गरेका छन् भने केपी शर्मा ओली र माधवकुमार नेपाल पछि परेका छन् ।

तीन पूर्वप्रधानमन्त्रीमध्ये ओली झापा जिल्ला क्षेत्र नम्बर-५, प्रचण्ड रुकुम पूर्व जिल्ला र नेपाल रौतहट जिल्ला क्षेत्र नम्बर-१ बाट उम्मेदवार छन् । यी क्षेत्रमा अहिले मतगणना जारी रहेको छ।

पछिल्लो मतपरिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजकसमेत रहेका प्रचण्डले रुकुम पूर्वमा ५ हजार ९२४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतमले २ हजार ९१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी कुसुमदेवी थापाले १ हजार ७०९ मत प्राप्त गरेकी छन् ।

त्यस्तै झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह अग्रस्थानमा रहेका छन् । ७ हजार ६५१ मत गणना हुँदा साहले ५ हजार २५४ मत प्राप्त गरेका छन् भने नेकपा एमाले का अध्यक्ष ओलीले १ हजार २४८ मत पाएका छन् । 

यसैगरी रौतहट जिल्ला क्षेत्र नम्बर-१ मा पनि रास्वपाका राजेश चौधरी अग्रस्थानमा रहेका छन् । गरुडा-१ जगनगरमा ३ हजार ३६१ मतगणना हुँदा चौधरीले १ हजार ४९९ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका योगेन्द्र यादव ले ६३१ मत, नेपाली कांग्रेस का अनिल कुमार झाले ३६६ मत प्राप्त गरेका छन् भने पूर्वप्रधानमन्त्री नेपालले ३२० मत प्राप्त गरेका छन् ।

Share News