काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनाव कसरी शान्तिपूर्ण रुपमा सम्पन्न भयो भन्ने विषय खुलाएका छन् । शुक्रबार भिडियो सन्देश जारी गर्दै उनले यो निर्वाचन कसरी शान्तिपूर्ण र हिंसारहित हुन सक्यो भन्ने विषय खुलाएका हुन् ।
‘यो चुनावले मानवता जोगाउने, मुलुक जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ । यो निर्वाचन हुन नसकेको भए हाम्रो मुलुक, संविधान र मानवता नै जोखिममा पर्न सक्थ्यो । अब हामीले चुनाव गरेका छौं र निष्पक्ष चुनाव गरेका छौं, यो सरकारले सुदृढ चुनाव गरोस् भन्ने अपेक्षा थियो,’ उनले भनेका छन् ।
यस्तै, विगतको भन्दा यस पटक गुणस्तरीय चुनाव भएको उनको भनाइ छ । ‘सुदृढ चुनाव गरेका छौं, सबैलाई थाहा छ, यसपालि एक थोपा रगत नखसिकन चुनाव सम्पन्न गर्न सकेका छौं, हाम्रो सरकार गठन भएदेखि राजनीतिक हिंसाबाट रगतको थोपो खसेको छैन । त्यो प्रत्याभूति हामीले दियौं, चुनावको क्रममा पनि हिंसात्मक झडपहरू हुन पाएनन्, एकाधबाहेक । हुन खोजेका ठाउँमा पनि रोकथाम गरेर त्यसलाई काबुभित्र राखेर चुनाव गरायौं,’ उनले भने ।
उनले भनेका छन्, ‘पहिला पहिला धेरै ठाउँमा स्थगन हुन्थ्यो र फेरि चुनाव गराउनुपर्थ्यो । तर, यसपालि देशभरि एकैचोटि मतदान सम्पन्न भएको छ । स्थगन गर्नुपरेको अवस्था पनि छैन । यसरी हामीले राजनीतिक सुशासनका मानकहरू बढाउनैपर्छ । यी मानकहरुलाई सुदृढ गर्नुपर्छ । ताकि भविष्यमा आउने सरकारहरूले ती मानकहरू भत्काउन नसकून्, ती मानक घटाउन नसकून् भन्ने तहको लक्ष्य र अपेक्षा राखेर हामीले काम गरेका हौं ।’