प्रारम्भिक मतगणनामा रास्वपाको ‘लहर’: ओली-गगनजस्ता शीर्ष नेता पछि

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनाले यसपटकको चुनावी प्रतिस्पर्धामा नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो उपस्थिति देखाएको छ । विभिन्न दलका अध्यक्ष तथा शीर्ष नेताहरू नै आफ्ना निर्वाचन क्षेत्रमा पछि पर्न थालेपछि राजनीतिक वृत्तमा ठूलो चर्चा सुरु भएको छ । 

झापा-५ मा केपी शर्मा ओली रास्वपाका उम्मेदवारसँग पछि परेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवारसँग पछाडि परेपछि त्यहाँ रोचक प्रतिस्पर्धा देखिएको छ । 

यस्तै, सर्लाही-४ मा गगन थापा पनि रास्वपाका उम्मेदवारसँग पछि परेको प्रारम्भिक परिणामले देखाएको छ । नेपाली कांग्रेस का सभापति थापा पछि परेपछि यो क्षेत्र पनि चर्चामा आएको छ । 

त्यसैगरी काठमाडौं-३ मा कुलमान घिसिङ पनि रास्वपाका उम्मेदवारसँग प्रतिस्पर्धामा पछि देखिएका छन् । मधेशकेन्द्रित राजनीतिमा प्रभाव राख्ने नेताहरू महेन्द्र राय यादव र राजेन्द्र महतो समेत आफ्ना क्षेत्रमा रास्वपाका उम्मेदवारसँग पछाडि परेको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएका छन् । 

यसबीच पुराना दलका शीर्ष नेतामध्ये पुष्पकमल दाहाल मात्रै प्रारम्भिक मतगणनामा अग्रता लिइरहेका छन् । देशका धेरै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् भने अन्य साना दलका उम्मेदवारहरूको उपस्थिति निकै कमजोर देखिएको छ ।

पुराना दलका मात्र होइन, नयाँ दलका शीर्ष नेताहरू समेत मतगणनामा पछि पर्न थालेपछि यसपटकको चुनावी परिणाममा रास्वपाको ‘लहर’ बलियो देखिएको विश्लेषण हुन थालेको छ । 

Share News