सुनसरी-१ मा अझै मतगणना हुन सकेन

काठमाडौं । सुनसरी-१ मा अझै मतगणना सुरु हुन सकेको छैन । सर्वदलीय बैठक सम्पन्न बसेर भर्खरै सकिएकाले केही समयमा मतगणना सुरु हुने निर्वाचन अधिकृत दीव्यराज घिमिरेले बताए ।

उनका अनुसार बैठक सम्पन्न भएकाले प्रतिनिधिको नाम आउन बाँकी छ । ‘मतगणनास्थलमा बस्ने प्रतिनिधिको नाम आएपछि मतगणना सुरु हुन्छ,’ उनले भने,’ १२ बजेदेखि मतगणना सुरु हुन सक्छ ।‘

सुनसरी १ मा कुल मतदाता सङ्ख्या १५०३९३ रहेकोमा कुल ८७८६५ मतदान भएको छ । निर्वाचन कार्यालय अनुसार सुनसरी जिल्लाको ४ निर्वाचन क्षेत्रमा खसेको कुल मतको आधारमा जिल्लामा ६४ प्रतिशत मतदान भएको छ ।

निर्वाचन कार्यालयद्वारा जारी तथ्याङ्क अनुसार प्रतिशतको हिसाबले निर्वाचन क्षेत्र २ मा ६४ प्रतिशत मतदान भएको छ । त्यहाँ कुल मतदाता १५८९१० रहेकोमा १०१००४ मतदान भएको छ ।

सुनसरी क्षेत्र ३ मा सबै भन्दा बढी कुल ७१ प्रतिशत मतदान भएको छ । त्यहाँ कुल मतदाता १३४३०२ रहेकोमा कुल ९५१८५ मतदान भएको छ ।

सुनसरी ४ मा ६२ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ कुल मतदाता सङ्ख्या १३७३४० रहेकोमा कुल ८५५४६ मतदान भएको जनाइएको छ ।

Share News