काठमाडौंमा रास्वपाको लहर: सबै क्षेत्रमा अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत राजधानी काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो लहर देखिएको छ । गएरातिदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिँदै ‘क्लिन स्वीप’तर्फ उन्मुख देखिएका छन् । 

काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शना न्यौपाने स्पष्ट अग्रतासहित विजयउन्मुख देखिएकी छन् । उनले १० हजार ५ सय ८१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री ४ हजार ७ सय ३३ मतसहित पछ्याइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र २ हजार ७ सय ४४ मतसहित तेस्रो स्थानमा छन् ।

काठमाडौं-२ मा रास्वपाका सुनिल केसीले अग्रता कायम गरेका छन् । उनले ४२४ मत प्राप्त गर्दा नेकपा एमालेका मणिराम फुँयाल २३६ मतसहित दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसका कबिर शर्मा १८९ र राप्रपाकी कुन्तिदेवी पोखरेल ५७ मतमा सीमित छन् । 

काठमाडौं-३ मा रास्वपाका राजुनाथ पाण्डे ४ हजार ६ सय ४९ मतसहित अगाडि छन् । उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ ३ हजार ३ सय ४१ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले १ हजार ४ सय ८१ र नेकपा एमालेका रामेश्वर फुँयालले ९ सय ४९ मत प्राप्त गरेका छन् । 

काठमाडौं-४ मा रास्वपाका पुकार बम ३ हजार ९ सय २२ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका सचिन तिमिल्सिना १ हजार ९५ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका राजन भट्टराई ९ सय ५६ मतमा छन् । 

काठमाडौं-५ मा रास्वपाका सस्मित पोखरेल ३ हजार ७ सय मतसहित अगाडि छन् । नेपाली कांग्रेसका प्रदीप पौडेल १ हजार ७८ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका ईश्वर पोखरेल ६ सय ९९ मतमा सीमित छन् ।

काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल ४ हजार ६ सय ५४ मतसहित उल्लेख्य अग्रतामा छन् । उनका प्रतिस्पर्धी एमालेका अमनकुमार मास्के र नेपाली कांग्रेसका कृष्ण वानियाँ क्षेत्रीले भने हजार मत पनि कटाउन सकेका छैनन् । 

काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली ४ हजार ६ सय ७७ मतसहित फराकिलो अग्रतामा छन् । एमालेका प्रकाश श्रेष्ठ र कांग्रेसका प्रमोदहरि गुरागाईंले हजार मतको सीमा समेत पार गर्न सकेका छैनन् । 

काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ ७ हजार ६ सय १७ मतसहित बलियो अग्रतामा छन् । अन्य दलका उम्मेदवारहरू भने हजार मत पनि पार गर्न सकेका छैनन् । 

काठमाडौं-९ मा रास्वपाका डिपी अर्याल १ हजार ५ सय ५२ मतसहित अगाडि छन् । नेपाली कांग्रेसकी नानुमैयाँ बास्तोला २६१ मतसहित दोस्रो स्थानमा छिन् भने नेकपा एमालेका अजय क्रान्ति शाक्य १५२ मतमा छन् ।

काठमाडौं-१० मा रास्वपाका प्रदीप विष्ट ५ हजार ७ सय ६५ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका हिमाल कार्की १ हजार ७८ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका विनोद श्रेष्ठले ७३१ मत प्राप्त गरेका छन् । 

काठमाडौंका केही क्षेत्रमा मध्यरातिदेखि नै मतगणना सुरु भएकाले आज साँझसम्म धेरै क्षेत्रको अन्तिम परिणाम सार्वजनिक हुने अनुमान गरिएको छ । बाँकी केही क्षेत्रको नतिजा भने राति अबेर वा भोलि बिहानसम्म आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Share News