देशभर ६० प्रतिशत मत खस्यो: निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ । 

आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले आयोजित पत्रकार सम्मेलनमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न मतदानको प्रारम्भिक विवरण सार्वजनिक गर्दै देशभर करिब ६० प्रतिशत मतदान भएको जानकारी दिए ।

उनका अनुसार केही मतदान केन्द्रमा अझै मत खसाल्ने प्रक्रिया जारी रहेकाले अन्तिम विवरण आउन बाँकी रहेको छ । निर्वाचन पर्यवेक्षणमा खटिएका संस्थाहरूले भने सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको प्रतिवेदन दिएका छन् ।

भण्डारीका अनुसार मतपेटिका मतगणनास्थलमा पुगेपछि मतगणना सुरु गरिनेछ। हिमाली क्षेत्रका १५ जिल्लाबाट मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याएर गणना सुरु गर्ने योजना रहेको उनले बताए ।

तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि समग्र प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले उल्लेख गरे । 

Share News