काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सामाजिक सञ्चालमा प्रशंसा हुन थालेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएपछि अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले फागुन २१ गते निर्वाचनको तालिका निर्धारण गरेकी थिइन् ।
यो बीचमा धेरैले निर्वाचन हुने/नहुने विषयमा संशय व्यक्त गरिरहेका थिए । कतिपय नेताहरूले पनि वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने अभिव्यक्ति दिँदै आएका थिए । तर, फागुन २१ गते देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ ।
शान्तिपूर्ण रूपमा निर्वाचन गराएको भन्दै सामाजिक प्रयोगकर्ताले उनको प्रशंसा गरेका छन् ।
विभिन्न राजनीतिक दलका नेताहरूले पनि उनको प्रशंसा गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले भनेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’
त्यस्तै, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन गराएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।
आज निर्वाचन सकिएपछि विज्ञप्ति जारी गर्दै सभापति थापाले भनेका छन्, ‘केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं ।’
‘प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ । निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा निर्वाचन भएको बताएका छन् ।
उनले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल, नागरिक समाज एवं सम्पूर्ण मतदाताप्रति धन्यवाद पनि दिएका छन् ।
‘एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधि सभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ,’ चुनाव सम्पन्न भएपछि उनले फेसबुकमा लेखेका छन् ।