मतदानमा बैंकरको पनि उत्साहपूर्ण सहभागिता, कुन सीईओले कहाँबाट खसाले मत ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (बिहीबार) देशभर मतदान भइरहेको छ । ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

यस निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ अन्तर्गत प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान भइरहेको छ । प्रत्यक्षतर्फ ६५ वटा राजनीतिक दलका उम्मेदवारले ६१ वटा निर्वाचन चिह्नमा प्रतिस्पर्धा गरिरहेका छन् । यस प्रणालीअन्तर्गत ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य गरी कुल ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। आयोगका अनुसार देशभर उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसैबीच विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले मतदान गरिसकेको जानकारी दिए । कोइराला झापा क्षेत्र नम्बर-१ भद्रपुरका मतदाता हुन् । उनले भद्रपुर नगरपालिकास्थित भगवती प्रावि मतदान स्थलबाट मतदान गरेका हुन् । उक्त क्षेत्रमा उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए ।

नबिल बैंकका सीईओ मनोज ज्ञवालीले काठमाडौंको क्षेत्र नम्बर-५ का मतदाता हुन् । उनले टोखा नगरपालिकास्थित फैमालचुली मतदानस्थलबाट मतदान गरेका हुन् । उक्त क्षेत्रमा शान्तपूर्ण वातावरणमा मतदान भइरहेको उनको भनाइ छ । 

‘सबै अनुशासित भएर लाइन लागेर मतदान गरिरहनु भएको छ । चुनावमा तिक्तताको वातावरण केही छैन । फरक-फरक राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू सौहार्द रूपमा मत मागिराख्नु भएको देखिन्छ । अहिले पनि मतदानस्थलमै छु,’ उनले भने । 

एनएमबि बैंकका सीईओ गोविन्द घिमिरे भक्तपुर क्षेत्र नम्बर-२ का मतदाता हुन् । उनले मध्यपुर ठिमी नगरपालिकास्थित युनिक स्कुलमा रहेको मतदानस्थलबाट मत खसालेको जानकारी दिए । उत्साहपूर्ण माहोलमा मतदान भइरहेको उनको भनाइ छ । 

नेपाल बैंकका सीईओ तीलकराज पाण्डेय काठमाडौं क्षेत्र नम्बर-१ का मतदाता हुन् । उनले नेपाल दूरसञ्चार कम्पनीको तालिम केन्द्र बबरमहलस्थित मतदान स्थलबाट आफ्नो मताधिकार प्रयोग गरेको बताए ।

मतदानस्थलमा शान्त भएर मतदाताहरूले मतदान गरिरहनु भएको उनले बताए । उनले भने, ‘सबै मतदाताहरू परिवक्क भएर हो कि अत्यन्तै सिभिलाइजेन देखिनु हुन्छ ।’

कुमारी बैंकका सीईओ रामचन्द्र खनाल काठमाडौं क्षेत्र नम्बर-७ का मतदाता हुन् । उनले नागार्जुन नगरपालिका-१ स्थित बालविकास मावि मतदानस्थलबाट मतदान गरेको जानकारी दिए । 

एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ काठमाडौं क्षेत्र नम्बर-५ का मतदाता हुन् । उनले बिहानै बुढानीलकण्ठ नगरपालिकास्थित भद्रकाली प्राथमिक विद्यालयको मतदान स्थलमा पुगेर मतदान गरेको जानकारी दिए ।

यस्तै, प्रभु बैंकका सीईओ सुनम शर्माले काठमाडौं क्षेत्र नम्बर २ का मतदाता हुन् । उनले पनि आफूले मतदान गरिसकेको जानकारी दिए । सानिमा बैंकका सीईओ पवनकुमार आचार्यले ललितपुर क्षेत्र नम्बर-३ मतदाता हुन् । उनले लगनखेलस्थित महालक्ष्मी मन्दिर मतदानस्थलबाट मतदान गरेको बताए । 

ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी काठमाडौं क्षेत्र नम्बर-५ का मतदाता हुन् । उनले पनि मतदान गरिसकेको जानकारी दिए ।

Share News