काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताएका छन् ।
पूर्वी चितवनको राप्ती नगरपालिका ५ को मतदान केन्द्रबाट मतदान प्रक्रियामा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले निर्वाचनपछि पनि मुलुकले तत्काल स्थायित्व पाउनेमा आशंका व्यक्त गरेका हुन् ।
पाण्डेले यो निर्वाचनलाई भदौ २३–२४ पछिको देशको नयाँ राष्ट्रिय राजनीतिको लेखाजोखा गर्ने कडीका रूपमा चित्रण गरे ।
निर्वाचनको नतिजाबारे विश्लेषण गर्दै पाण्डेले नेपालको वर्तमान निर्वाचन प्रणालीले एकल बहुमतलाई निषेध गरेको तर्क गरे ।
६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सिट रहेको व्यवस्थामा कुनैपनि दलले बहुमत ल्याउनु फलामको चिउरा चपाउनु सरह रहेको उनको भनाइ छ ।
पाण्डेले छिमेकी मुलुक बङ्गलादेशको उदाहरण दिँदै नेपालमा संविधानका मुख्य एजेण्डालाई थाँती राखेर चुनाव गरिएकोमा असन्तुष्टि जनाए ।
बङ्गलादेशमा चुनावसँगै जनमत सङ्ग्रह गरेर प्रधानमन्त्रीको कार्यकाल र सदनको स्वरूपबारे निर्णय लिइएको प्रसंग उल्लेख गर्दै उनले नेपालमा भने दलहरू सरकार बनाउने र प्रधानमन्त्री तोक्ने होडमा मात्र लागेको आरोप लगाए ।
अन्तरिम सरकारले चुनाव गराउन सक्दैन भन्ने आशंकाका बीच सुशीला कार्की नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा पाण्डेले धन्यवादसमेत दिए ।