गुल्मीमा साढे १२ बजेसम्म २२ प्रतिशत मतदान

काठमाडौं । गुल्मीमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ः३० बजेसम्म जिल्लाभर कुल ५२ हजार ७४० मत खसेको छ। यो कुल मतदाताको करिब २२.९७ प्रतिशत हो ।

जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन् । तीमध्ये १ लाख १५ हजार २ सय १० महिला, १ लाख १४ हजार ३ सय ३७ पुरुष तथा २ जना अन्य मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लाभर १ सय ४५ मतदान स्थल र २ सय ८४ मतदान केन्द्र तोकिएका छन् ।

निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार अहिलेसम्म मतदान शान्तिपूर्ण तरिकाले चलिरहेको छ । सुरक्षा व्यवस्थालाई समेत कडा बनाइएको पौडेलले जानकारी दिए।

गुल्मी क्षेत्र नम्बर–१ मा कुल १ लाख २२ हजार १ सय ८६ मतदाता रहेका छन् । यस क्षेत्रमा ६२ हजार २ सय ७२ महिला र ५९ हजार ९ सय १४ पुरुष मतदाता छन् । मतदानका लागि ८३ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र तोकिएका छन् । यस क्षेत्रमा पनि बिहानदेखि मतदाताको सक्रिय सहभागिता देखिएको छ ।

त्यसैगरी, गुल्मी क्षेत्र नम्बर–२ मा कुल १ लाख ७ हजार ३ सय ६३ मतदाता रहेका छन् । तीमध्ये ५२ हजार ९ सय ३८ महिला, ५४ हजार ४ सय २३ पुरुष र २ जना अन्य मतदाता रहेका छन् । यस क्षेत्रमा ६२ मतदान स्थल र १ सय २९ मतदान केन्द्रबाट मतदान भइरहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेका अनुसार मतदानलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई समेत परिचालन गरिएको छ । संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।

मतदान प्रक्रियालाई व्यवस्थित बनाउन मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरू बिहानैदेखि खटिएका छन् । कतिपय स्थानमा वृद्धवृद्धा, अपांगता भएका व्यक्ति तथा पहिलो पटक मतदान गर्न आएका युवाहरूको पनि उत्साहजनक सहभागिता देखिएको छ ।

निर्वाचन आयोगले मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ। मौसम सामान्य रहेकाले मतदानमा कुनै अवरोध नआएको स्थानीय प्रशासनले जनाएको छ ।

मतदान बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । त्यसपछि मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी तोकिएको स्थानमा मतगणना गर्ने तयारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Share News